विमानस्थलको पार्किङमा लुट

काठमाडौं ।


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्कको नाममा लुट हुने गरेको छ ।

विमानस्थलभित्र प्रवेश गर्नेवित्तिकै हल्का सवारीसाधनको सय, कार जिपको ८० र मोटरसाइकल स्कुटरको ४० रुपियाँ लिई सर्वसाधारणलाई सरकारी निकायमा जाँदा नै लुटिनु परेको छ । दैनिक मानिसहरूको चहलपहल हुने सरकारी कार्यालयले नै मानिस लुट्न ठेक्का लगाउने नियतमा शंका उत्पन्न हुँदै आएको छ ।


साउदी अरबमा दाजुलाई बिदाइ गर्न आएका इटहरीका कृष्ण पौडेलले सरकारी निकायलाई पार्किङ शुल्क उठाउनुपर्ने बाध्यता नभई तस्कर र माफियासँग कर्मचारी र माफियाले रकम लिने गरेको बताउनुभयो । उहाँले हामीले विदेशबाट रेमिट्यान्स पठाउँदासमेत सरकारलाई नपुगेर सरकारी कार्यालयमा गएबापत रकम तिर्न बाध्य बनाएको बताउनुभयो ।


वर्षौंदेखि त्रिभुवन विमानस्थलको माथिल्लो भागमा सिद्धगढी मारुती जेभी प्रालिले पार्किङ शुल्क उठाउँदै आइरहेको छ  भने अन्तर्राष्ट्रिय टर्मिनलको अराइभलतर्फ (तल) आइएमएस एयरपोर्ट सर्भिसेजले पार्किङ शुल्क लिँदै आएको छ । दुवै संस्थाले मनलाग्दी रूपमा वर्षेनी पार्किङ शुल्क बढाउने गरेका छन् ।

यसमा सामान्य मजदुरी गर्न जाने दाजु, बुवाका आफन्तका सन्तानले विदेश जान विमानस्थल प्रवेश गर्नेबित्तिकै रकम तिर्नु परिरहेको छ । यस अगाडि गत भदौदेखि एकैपटक पार्किङ शुल्क दोब्बरभन्दा धेरै बढाइएको थियो । यसरी पार्किङ शुल्क उठाउने संस्थाका सञ्चालक सरकारनिकट छन् ।

Source : https://newsofnepal.com/2024/11/20/679016/