सुनिरा र रितिकच्याम्पियन

काठमाडौं ।

सुनिरा थापा र रितिक राणा चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्समा शनिबार च्याम्पियन भएका छन्।
गणेशमान सिंह फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा सुनिरा महिला र रितिक पुरुषमा च्याम्पियन भएका हुन्।

च्याम्पियनद्वय रितिक र सुनिराले समान एक लाख रुपैयाँ पुरस्कार पाए। नेपाल टेनिस संघको कोर्टमा भएको महिला सिंगल्स फाइनलमा सुनिराले अभिलाशा बिष्टमाथि ६–४ र ७–५ को जित हासिल गरेकी थिइन् । पुरुष सिंगल्स फाइनलमा रितिकले राजवीर प्रधानलाई ६–१ र ६–३ ले हराए । दोस्रो भएका खेलाडीले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

पुरुष सिंगल्समा प्रणव मानन्धर र आयुषमान हजुर घले संयुक्त रूपमा तेस्रो भए । महिला सिंगल्समा भने प्राज्ना मानन्धर र स्वस्तिका बिष्ट तेस्रो भए । तेस्रो स्थानका खेलाडीलाई समान १२ हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो।
पुरुष ४५ वर्षमाथि सिंगल्समा कमलबहादुर भण्डारी छेवाङ लामामाथि ६–१ र ६–२ को जित निकालेर च्याम्पियन बने। कमलले ३७ हजार पाँच सय र छेवाङले १८ हजार सात सय ५० रुपैयाँ प्राप्त गरे।

पुरुष डबल्समा आयुष्मान घले र प्रदीप खड्काको जोडीले सफलता प्राप्त गरेका थिए । महिला डबल्समा भने खेलाडी संख्या नपुगेपछि प्रतिस्पर्धा रद्द गरिएको थियो।

Source : https://newsofnepal.com/2024/10/27/675417/