‘एक महिनाभित्र सडकका सबै खाल्डाखुल्डी पुर्नेछु’

–मिलेर काम गर्छौं
–मेरो जितमा कीर्तिपुरवासीले विकास देख्नेछन्

काठमाडौं ।

नेकपा एमाले सचिवालयको बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार उठाएसँगै कीर्तिपुरको चुनावी माहोल तातेको छ।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित राजकुमार नकर्मीको गत साउन ११ गते निधन भएको थियो। उहाँको निधनपछि रिक्त मेयर र वडा नं १ र ४ का वडा अध्यक्ष पदमा निर्वाचन हुन लागेको हो।

गत स्थानीय निर्वाचनमा एमालेले नराम्रोसँग पराजय बेहोरेको थियो । हाल एमालेको एक जना निर्वाचित जनप्रतिनिधि छन् । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका डा. मानन्धर एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ । कानुन विषयमा विद्यावारिधि गर्नुभएका उहाँले कीर्तिपुरको मेयर पदमा आफ्नो विजय सुनिश्चित भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘मेरो नीति, सिद्धान्त र कीर्तिपुरवासीको मायाका कारण मेरो जित सुनिश्चित प्रायः छ ।’ काठमाडौंको निर्वाचन क्षेत्र नं १० इन्चार्जसमेत रहनुभएका मानन्धरले टिकट पाएपछि कीर्तिपुरवासी हर्षित भएका छन् । मानन्धर २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसका राजन केसीसँग पराजित हुनुभएको थियो ।

मेयरका उम्मेदवार डा. मानन्धरले आफ्नो उम्मेदवारीले कीर्तिपुरवासीको विकासमा कोशेढुंगा हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘अब दुई वर्ष बाँकी छ, मैले जितेमा दुई वर्षभित्र कीर्तिपुरलाई साच्चिकै ऐतिहासिक सहरका रूपमा विकास गर्नेछु ।’ उहाँले आफूले विजयी हासिल गरेको एक महिनामा कीर्तिपुरका सबै खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो– ‘भौतिक पूर्वाधार, आर्थिक उन्नति र सांस्कृतिक नगरका रूपमा कीर्तिपुरलाई विश्वभर चिनाउनेछु। कीर्तिपुरलाई नमुना सहरका रूपमा विकास गर्नेछु ।’ उहाँले कीर्तिपुरमा खेलकुद पूर्वाधार बनाउन पहल गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न पूर्वाधार तयार गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । ‘हाम्रो सहर विश्वको सांस्कृतिक सहरका रूपमा परिचित छ, अब सहर मात्रै होइन राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार बस्ने यो सहरलाई देशकै नमुनाको बनाउनेछु’ –मेयरका प्रत्यासी मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो ।

२०७९ मा कीर्तिपुरको चुनावी परिणाम उल्ट्याउन मंसिर १६ गतेको निर्वाचनमा मेयरसहित दुवैवटा वडाअध्यक्ष विजयी हुने दाबी उहाँको थियो । ‘मैले जिते मेयर एमाले, उपमेयर र वडा अध्यक्षहरू अर्कै पाटीको हुनेछन्, तर कीर्तिपुर बनाउन दलगत नभई सबैले हातेमालो गर्नुहुनेछ’ –आफ्नो भविष्यको योजनाबारे जानकारी गराउँदै मेयरका उम्मेदवार मानन्धरले भन्नुभयो । एमालेले रिक्त वडा नं १ को अध्यक्षमा हर्ष महर्जन र ४ को अध्यक्षमा बद्री बुढाथोकीलाई टिकट दिएको छ ।

एकपटक आफूलाई अवसर दिन मतदातासँग आग्रह गर्दै भन्नुभयो– ‘हाम्रो कीर्तिपुर र राम्रो कीर्तिपुर बनाउन मैले सबै किसिमको सहयोग गर्नेछु ।’ उहाँले कीर्तिपुर नगरपालिकालाई साच्चिकै नगरवासीको नगरपालिकाको रूपमा विकास गर्ने प्रतिबद्धाता जनाउँदै भन्नुभयो– ‘मेरो जितले कीर्तिपुरवासी खुसी हुनेछन्, कीर्तिपुरवासीले विकास देख्नेछन् ।

Source : https://newsofnepal.com/2024/11/08/677053/