आज मातातीर्थ औँसी , आमाको मुख हेर्ने दिन

वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ।

दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ ।

आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ।

धर्मशास्त्रमा आमाको स्थान परमात्मा भन्दा उच्च मानिएको छ । आमालाई पण्डित, आचार्य र पिताभन्दा पनि महान् मानिएको छ । पितृऋण तिर्न माता, पितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने तथा मृत्युपछि श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ। सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ।

मनुस्मृतिमा माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’

राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ मातातीर्थमा यो दिन आमाको सम्झना गर्ने घुइँचो लाग्छ । आमा नहुनेहरूले श्राद्ध तर्पण गर्छन्।

बुधबार ९ घडी २१ पला अर्थात् बिहान ९ बजेर ६ मिनेटसम्म मात्र औँसी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ ।

Source : https://www.khasokhas.com/203774