उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली सर्वाेत्कृष्ट


काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवालीले सर्वाेत्कृष्ट स्थान हासिल गरेका छन् ।


गत भदौ १६ देखि २१ असोज (सोमबार) सम्म भएको सो तालिममा प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै आर्थिक प्रशासन महाशाखाका प्रमुख कामु एसएसपी ज्ञवालीले सर्वाेत्कृष्ट स्थान सुरक्षित गरेका हुन् । उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वाेत्कृष्टको प्रमाणपत्र प्रदान गरेका हुन् ।


सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भएका छन् ।


सशस्त्र प्रहरी बल, नेपालमा सेवा प्रवेशपश्चात् प्रधान कार्यालयको केन्द्रीय परिचालन कक्ष जस्तो सम्वेदनशील स्थानमा कार्यरत रहँदा होस् वा सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा कर्मचारी प्रशासन शाखा प्रमुखको जिम्मेवारीमा रहँदा होस् ज्ञवालीले कर्मचारीहरुको सरुवा, बढुवालगायत वृत्तिविकास जस्ता महत्वपूर्ण कार्यसम्पादनमा पारदर्शिता, निष्पक्ष एवं त्रुटिरहित ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गरी वैज्ञानिक ढंगबाट अभिलेख व्यवस्थापन गर्न आवश्यक प्रणालीको विकास गरेका थिए ।


सशस्त्र प्रहरी नियमावली २०७२ मा भएको व्यवस्थाबमोजिम सशस्त्र प्रहरी बल, नेपालको साधारण समूह, साधारण लेखा उपसमूहमा समूहकृत भई सशस्त्र प्रहरी बल, नेपालको आर्थिक प्रशासन महाशाखाको प्रमुखको रुपमा रही उनले नेपाल सरकार तथा संगठनले अवलम्वन गरेको आर्थिक अनुशासनमा शून्य सहनशिलताको पद्धतिअनुरुप पारदर्शिता, निष्पक्ष एवं त्रुटिरहित ढंगबाट सशस्त्र प्रहरी बल, नेपालको बजेट निर्माण एवं बेरुजु फर्छ्यौट कार्यमा समेत उत्कृष्ट रुपमा कार्यसम्पादन गर्दै आइरहेका छन् ।

The post उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली सर्वाेत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101944/