ओली निरंकुश शैलीमा आलोचकलाई धरपकड गर्दै : प्रभु साह
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताको प्रमुख समस्या समाधान गर्न नसकेको भन्दै निरिह भएको टिप्पणी गरेका छन् । दुई तिहाई बहुमतको सरकारले मुलुकको प्रमुख समस्या समाधान गर्नुको साटो आफ्ना आलोचकलाई धरपकड गर्नुले ओली निरंकुश हुदै गएको उनले बताए ।
सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा आज सञ्चारकर्मीसंग संक्षिप्त कुराकानीमा आजपा अध्यक्ष साले मुलुकको समस्या समाधान गर्न नसकेको वर्तमान सरकार आफ्ना आलोचकलाई धरपकड गर्दै निरंकुशताको बाटोमा हिडेको आरोप लगाए ।
‘दुई तिहाईको बहुमतको धाक लगाउने प्रधानमन्त्रीजीले मुलुक र जनताको समस्या समाधान गर्न सक्नुपथ्र्यो, तर त्यसमा असफल हुनुभयो । बाढीपीडितले न्याय पाउन सकेका छैनन् । मुलुकको आर्थिक समस्या झनझन बिग्रदै गईरहेको छ । मुलुकलाई समृद्ध बनाउनुपर्नेमा सरकारले राज्यको ढुकुटी सिध्याएर कंगाल बनायो’, आजपा अध्यक्ष साहले भने, ‘धाक दुई तिहाई बहुमतको लगाउने तर आलोचना गर्ने विरोधीलाई छानीछानी धरपकड गर्ने, कारवाही गर्ने, आलोचक र विरोधीलाई तर्साउने कामले मुलुक बन्दैन् ।’
लोकतान्त्रिक मुल्यमान्यता बोकेको नेपाली कांग्रेसले हिजोको दिनमा वाकस्वतन्त्राका लागि लडेको पार्टीले निरंकुश सरकारलाई समर्थन किन गरेको होला ? भन्दै उनले प्रश्न गरे । आफना जायज माग सम्बोधनका लागि विरोध गर्ने, आफूलाई ठिक नलागेको बिषयमा आलोचना गर्ने नेपाली नागरिकको संवैधानिक हकअधिकार भएको बताउदै उनले त्यही संवैधानिक हकअधिकार हनन् हुँदा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले मौन बस्नु जायज नभएको टिप्पणी गरे ।
‘शान्तिपूर्ण प्रदर्शन गर्ने, विरोध गर्ने, आलोचना गर्ने नागरिकको संवैधानिक हकअधिकार हो । यो अधिकार ल्याउनमा कांग्रेस सहितका दलहरु आज त्यो अधिकार हनन् हुँदा मौन बस्न मिल्दैन्’ आजपा अध्यक्ष साहले भने, ‘दशरथ रंगशालामा प्रधानमन्त्री विरुद्ध हुटिङ गर्दैमा, सडकमा न्यायको माग गर्दै बृद्धबृद्धाले विरोध प्रदर्शन गर्दै धरपकड गर्नुको साटो सरकारले उनीहरुको माग सम्बोधन गर्नुपर्छ ।’
दुई तिहाई बहुमतको धाक लगाउने सरकारले मुलुकको समृद्धि, बिकासमा आमूल परिवर्तन गर्नुको साटो आवाज बिहिन सोझासाझा बृद्धबृद्धा, युवालाई निरंकुशशैलीमा धरपकडको धम्की दिनु लज्जास्पद बिषय भएकोमा साहले चिन्ता व्यक्त गरे । भारत, चीनसहितका मुलुकसंग व्यापार घाटा रहेको, भन्सार नाका सञ्चालन गर्न नसकेको, बेरोजगारी समस्या बढदै गईरहेको भए पनि सरकार मौन रहनु र यही बिषयलाई लिएर आवाज उठाए धरपकड गर्नु लोकतान्त्रिक मुल्यमान्यता विपरित भएको उनले बताए ।
प्रधानमन्त्री ओलीको व्यवहार चितवको ‘ध्रुवे हात्ति’ जस्तो भएको भन्दै तत्काल सच्याउनुपर्ने चेतावनी उनले दिए । साहले प्रधानमन्त्री ओलीको हालत भने ‘भिजेको मुसा’ जस्तै देखिएको टिप्पणी गरे । ओलीको व्यवहार अराजकता र पाईला अधिनायकवादतर्फ लम्किएको उनले बताए ।
जनताले शान्तिपूर्ण आन्दोलन विरोध गर्दा प्रहरी प्रशासन लगाएर दमन गर्ने र युवाहरुले नाम लिएर नाराबाजी गर्दा प्रहरी लगाएर आतंकित पार्ने कार्य नै अलोकतान्त्रिक भएको साहको भनाई छ । उनले दशरथ रंगशालामा हालै सम्पन्न महिला साफ च्याम्पियनको फाईनल खेलमा युवाहरुले केपी ओलीको नाम लिएर नाराबाजी गर्नेहरुलाई प्रहरीले निगरानी गरेको विषयमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले भने, ‘जनताको बहुदलीय जनवादको जगमा उभिनुभएको केपी ओलीले नागरिकस्तरबाट सरकारको आलोचना हुँदा सहन नसक्नु गम्भीर गल्ती हो । जनता सडकमा शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा बल प्रयोग गर्नु अराजकता हो । उहाँको व्यवहार त एक ताका चितवनको सडकमा वितण्डा मच्चाउँदै हिँड्ने ध्रुवे हात्तिजस्तो भयो । यो व्यवहार उहाँले सच्याउनुपर्छ । नत्र जनताले उहाँलाई ठेगान लगाउनेछन् ।’
आजपा अध्यक्ष साहले कांग्रेसको बैशाखीमा सत्ता–यात्राको रोमान्समा भुलिँदै ‘जनता केहीपनि होईन’ भन्ने नठान्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । पूर्वमन्त्री साहले वर्तमान सरकार सबै मोर्चामा असफल भएको दाबी गरे । ‘यो सरकार बन्दै गर्दा के के नै गर्छौं भनेर कांग्रेस र एमालेका नेताहरुले ठूलो कुरा गर्नुभयो, तर अहिले व्यवहारमा हेर्नुहोस त देशको हालत झनै खस्कियो, जनतामा निराशा पैदा भएको छ । भ्रष्टाचार मौलाएको छ । बेथितिको चाङ लागेको छ’ उनले भने ।
सरकार आन्तरिक रूपमा मात्रै नभएर बाह्य सम्बन्ध सन्तुलित राख्नसमेत असफल भएको उनको आरोप छ । उनले वर्तमान प्रधानमन्त्री ओलीभन्दा अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक मामिलामा परराष्ट्रमन्त्री आरजु राणा नै बढि हाबी देखिएको पनि टिप्पणी गरे । साहले प्रधानमन्त्री ओलीलाई भारत, चीन र अमेरिकाजस्ता शक्ति राष्ट्रले कुनै महत्व नै नदिएको आरोप लगाए ।
भारतले भाउ नदिएपछि प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा चीन भ्रमणको गृहकार्यमा रहेको भएपनि अहिलेसम्म आफ्नो चीन भ्रमण’bout मुख नखोल्नुले भ्रमण नै हुने वा नहुनेमा शंका रहेको पनि उनको टिप्पणी छ । उनले सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसको कारण प्रधानमन्त्री ओली खुम्चिएर र बाँधिएर चल्नुपरेको भन्दै हालत भिजेको मुसाजस्तो देखिएको आरोप लगाए ।
सरकार सबै मोर्चामा असफल भैसक्दा र जनतामा निराशा चुलिएको बेलामा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको एक सय दिनलाई सफल मान्नु ‘एमालेसँगै कांग्रेसपनि सति जानु’ भएको टिप्पणी गरे ।
The post ओली निरंकुश शैलीमा आलोचकलाई धरपकड गर्दै : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/103408/