काठमाडौंमा रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं– काठमाडौं जिल्ला अदालतले रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले आज पक्राउ पुर्जी जारी गरेका हुन् ।
अब जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेलाई काठमाडौं झिकाएर अनुसन्धान गर्नेछ । यसअघि लामिछानेलाई कास्कीबाट रुपन्देही झिकाएर बयान लिईएको थियो । उनलाई रुपन्देहीमा राखेर तीन दिन मौखिक तथा लिखित बयान लिएपछि पुन पोखरा लगिएको थियो ।
सहकारी ठगी प्रकरणमा लामिछाने गत कार्तिक २ गते काठमाडौंकोस्थित् रास्वपाको केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ परेका हुन् । हाल उनी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।
पार्टी सभापति पक्राउ परिरहँदा रास्वपाले भने दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । लामिछाने पक्राउ परेदेखि नै आन्दोलनमा उत्रिएको रास्वपाले मंसीर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । दोस्रो चरणको मागपत्र आइतबार सार्वजनिक गर्दैै रास्वपाले सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्नसमेत माग गरेको छ ।
यस्तै सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने रास्वपाले सार्वजनिक गरेको मागपत्रको दोस्रो बुँदामा उल्लेख छ । रास्वपाले उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्नेसमेत मागपत्रमा उल्लेख छ ।