कोशीमा सवारी साधनलाई ‘टाइम कार्ड’
इटहरी । कोशी प्रदेशमा केही दिनयता अत्याधिक सवारी दुर्घटना बढेपछि ‘टाइम कार्ड’ लागू गरिने भएको छ । १५ दिनभित्रमा ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।
सोमबार (आज) इटहरी उपमहानगरपालिकामा मेयर हेमकर्ण पौडेलसहित सुनसरीका प्रुमख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी प्रमुख, एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका एसपी विनोद घिमिरे, जनप्रतिनिधिहरू, सडक विभागका प्रतिनिधि, यातायात व्यवसायी संघ, सरोकारवाला निकायसहितको बैठकले ‘टाइम कार्ड’ लागू गर्ने निर्णय भएको हो ।
‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पीड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए । ‘१५ दिनभित्रमा टाइम कार्ड लागू गर्ने र अतिक्रमित क्षेत्रका सडक, पेटी क्लियर गर्ने निर्णय भएको छ,’ उनले भने, ‘ट्राफिक व्यवस्थापन चुस्त, दुरुस्त बनाउन पनि सबै सरोकारवाला निकाय गम्भीर भएका छौँ, सोहीअनुसार निर्णय भएको छ ।’
सडकलाई अनुशासित र क्षति न्यूनीकरणको पाटोमा सबै सचेत हुनुपर्ने उनले बताए । ट्राफिक व्यवस्थापनमा देखिएका कमजोरीलाई सुधार गरेर लैजानुपर्ने मेयर पौडेलले बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी तिवारीले दोषी कोही पनि नउम्किने बताए । ‘लापरबाहीपूर्वक गाडी चलाउने र दोषी जो कोही पनि कारबाहीको भागिदार हुन्छ,’ उनले भने, ‘हामी आफैँ ट्राफिक नियम’bout शिक्षित हुन जरूरी छ । अब टाइम कार्ड लागू भएपछि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने विश्वास गरिएको छ ।’
प्रजिअ तिवारीले सडक दुर्घटना भोलिका दिनमा पनि हुने भएकाले आगलागी गर्नु र उत्तेजित हुनु अस्वभाविक रहेको बताए । ‘यो मेरो पनि समाज हो । दुर्घटना हुन नदिऔँ, तर दुर्घटना भएमा आगो नै लगाउनुपर्छ भन्ने भाष्य परिवर्तन गर्न आवश्यक छ,’ उनले भने, ‘हामीले समाज भाँड्ने होइन, बनाउने हो ।’
बैठकमा सहभागी सडक–पुल सहयोग इकाई कार्यालय कोशीका प्रमुख सूर्यनारायण चौधरीले बस चालकको गम्भीर लापरबाहीका कारण नागरिकको हैसियतले मानिस ढुक्क भएर सडकमा हिँड्न सक्ने वातावरण नरहेको बताए । ‘ड्राइभरलाई लाइसेन्स मात्रै होइन, ओरियन्टेसन आवश्यक छ,’ उनले भने, ‘हिजोको घटनामा ड्राइभरलाई माफी दिने त सवाल नै हुँदैन । ब्याक गरेर किचेर मारेको कुरा छ, यो गम्भीर लापरबाही हो ।’
स्थानीयबासी तथा पत्रकार सन्तोष यादवले पेटी व्यवस्थापन गर्नुपर्ने कुरा उठाए । पालिकाले सडक पेटी व्यवस्थापन गरेमात्रै पनि धेरै हदसम्म दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ । खासगरी सडक विभागले ६ लेन सडकमा खोलाको डीपीआर बनाउनुपर्ने ठाउँमा, नालाको डीपीआर बनाएको र डिभाइडर नभएको ठाउँमा दुर्घटना बढिरहेको उनले बताए ।
‘जहाँ डिभाइडर छैन, त्यहाँ धेरै दुर्घटना र क्षति भएको छ,’ उनले भने, ‘पालिकाले बजेट नै खर्च नगरीकन पेटी व्यवस्थापन गर्न सक्छ । बरू हामीलाई एक वर्षको उपभोक्ताको बजेट नदिनु, तर पेटी व्यवस्थापन गर्नुपर्छ ।’
कोशी यातायात व्यवसायी संघका अध्यक्ष सरोज श्रेष्ठले बसहरूले सर्भिस लेनबाट चलाउनुपर्ने बाध्यता रहेको बताए । ‘सिटी सफारी चैं हाइवेमा कुदिरहेको छ, अनि बस सर्भिस लेनबाट कुदाउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘एउटा होटलका लागि डिभाइडर खोल्ने प्रचलन छ । सडक लेनको प्रयोग कसरी गर्ने भन्ने’bout शिक्षा दिन पनि आवश्यक छ ।’
खासगरी आइतबार काकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ७५७४ नम्बरको नागरिक यातायातको ठक्करबाट इटहरी १० की सजना यादवको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित स्थानीयबासीले बस जलाएका थिए । बस पूर्ण रूपमा जलेको छ भने राति ८ बजेसम्म आक्रोशित स्थानीयले प्रदर्शन गरेका थिए ।
खासगरी विद्यालयबाट घर फर्किदैँ गरेकी यादवलाई बस चालकले ठक्कर दिएको र ब्याक गरेर किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि उग्ररूप लिएको थियो ।
सोही विषयसँगै दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने’bout उपमहानगरमा बैठक बसिएको हो ।
त्यससँगै कोशी प्रदेशका सुनसरी, मोरङ र झापामा पछिल्लो दुईदिनमै सवारी दुर्घटनाका कारण ५ जनाले ज्यान गुमाएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ६ का २४ वर्षीय रमेश खड्काको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चौदण्डीगढी नगरपालिका २ की २४ वर्षीया कृष्णकुमारी खड्का घाइते भएकी छन् । उनको न्यूरोमै उपचार भइरहेको छ ।
मोरङमै शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २९२८ नम्बरको टिपरले को २० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक पथरीशनिश्चरे–७ का १८ वर्षीय निश्चल आङदम्बे र पछाडि सवार पथरीशनिश्चरे–२ का ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
तीव्र गतिमा रहेको टिपरलाई मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनालगत्तै प्रहरीले मोटरसाइकल, टिपर र टिपर चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३५ वर्षीय सुरेश राईलाई नियन्त्रणमा लिएको छ ।
यसैगरी झापाको बिर्तामोड नगरपालिका २ स्थित पूर्व–पश्चिम राजमार्गमा ना ३ ख ४३६४ नम्बरको ट्रकले मे १० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक झापाको शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवाल रहेकी छन् । उनको उपचारको क्रममा बी एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न रहेका ट्रक चालक झापा अर्जुनधारा का ५२ वर्षीय राजकुमार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय तीव्र गतिका कारण दुर्घटना बढेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
The post कोशीमा सवारी साधनलाई ‘टाइम कार्ड’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104021/