क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर दाजुभाईको मृत्यु
मोरङ– मोरङको केराबारी गाउँपालिकामा क्रसर उद्योग नजिकै खनिएको खाल्डोमा जमेको पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । क्रसर उद्योगले थुपारेको गिटी बालुवा निकाल्दा ठुलो खाल्डो परेको थियो । केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको पौडी खेल्ने क्रममा डुबेर भूपेन र रामचरण चौलागाईँको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । भूपेन र रामचरण दाजुभाई हुन्, उनीहरु १० र ६ वर्षका थिए ।
उनीहरुका बुबा सोही क्रसरका कामदार हुन् । विद्यालयमा दशैंको छुट्टी भएपछि उनीहरु खेल्न क्रसरमा पुगेका थिए । क्रसरनजिकै पानी जमेको दाजु भूपेन खाल्डोमा पसेका थिए । दाजु पसेर अकडेपछि भाइले निकाल्न खोज्दा उनी पनि त्यही डुबेको पाइएको प्रहरीले जनाएको छ ।
लेदो सहितको पानी भएकाले उनीहरू निस्कन नसकेको प्रहरीको भनाई छ । विद्यालय बिदा भएको र घरमा बच्चाको हेरचाह नहुँदा उनीहरूको अकालमा ज्यान गएको प्रहरीको निष्कर्ष छ । बुबाले छोराहरु क्रसरमा आएको थाहा पाएका थिएनन् । आमाले मदिरा सेवन गरेर त्यसकै लतमा रहने भएकाले छोराहरुको राम्रोसँग ध्यान राख्ने मान्छे नभएको प्रहरीले जनाएको छ ।
उनहरुको शव खाल्डोबाट निकाल्न खोज्दा क्रसरका कारण धेरै सास्ती भोगेको भन्दै स्थानीयले अवरोध समेत गरेका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले बाटो बनाउनेलगायत स्थानीयका माग सम्बोधन गर्ने बताएपछि शव निकालिएको थियो । दुवै जनाको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।