चलचित्र खिचेर सामाजिक सञ्जालमा हाल्नेसँग सिनेकर्मी हैरान

काठमाडौं । गत असोज १८ मा रिलिज भएको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’को थुप्रै दृष्यहरु सामाजिक सञ्जालमा दुई दिनमै छयापछयाप्ती आए । यो चलचित्रका निर्माता एवम् अभिनेता निश्चल बस्नेतले सुचना नै निकालेर अनुरोध गर्दा पनि दर्शकले ती दृष्यहरु हटाएनन् । अन्तत : साईबर ब्युरो पुगेर निश्चलले आफ्नो चलचित्रको दृष्य सार्वजनिक गरिएका सबै सामाजिक सञ्जालका एकाउन्टहरु बन्द गराउनु प-यो ।

गत २४ असोजमा रिलिज भएको तीन नेपाली चलचित्र छक्का पञ्जा ५, ज्वाई साब र १२ गाउँले पनि त्यस्तै समस्या भोग्नु परेको छ । चलचित्र हेर्न गएका दर्शकले आफ्नो चलचित्रको धेरै दृष्य खिचेर सामाजिक सञ्जालमा शेयर गरे । जसका कारण निर्माता अभिनेता दीपकराज गिरीले पनि यस्तै सास्ती भोग्नु प¥यो । चलचित्र रिलिज भएको आठौं दिनमा गरिएको पत्रकार सम्मेलनमा दीपकले हलबाट चलचित्र खिचेर सामाजिक सञ्जालमा नहाल्न आग्रह गरे । कसैले आफ्नो चलचित्र शेयर गरेको छ भने उसलाई कारवाहीको घोषणा समेत गरे । अन्तमा उनले पनि साईबर ब्युरो गएर त्यस्ता एकाउन्टहरु बन्द गराउनु प-यो ।

अझ चलचित्र १२ गाउँले त यो भन्दा ठुलो समस्या झेल्नु प¥यो । यो चलचित्र रिलिज भएको २४ घन्टा नबिन्दै चलचित्रका आधा घन्टादेखि ४५ मिनटसम्मको दृष्य खिचेर युट्युवमा हाल्ने काम दर्शकबाटै भयो । कैयौं दर्शकले १२ गाउँका लामो दृष्यहरु खिचेर फेसबुक, एक्स, इन्सटाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालबाट सार्वजनिक गरे ।

यसरी केही समय यताबाट चलचित्र हलमै दर्शकले चलचित्र खिचेर विभिन्न सामाजिक सञ्जालमा हाल्ने क्रम बढेको छ । अझ नेपालमा पुन टिकटक खुलेपछि त हलबाट चलचित्र खिचेर टिकटकमा हाल्ने क्रम ह्वात्तै बढेको यी सिनेकर्मीहरु बताउँछन् । यो कार्यबाट हैरान भएका चलचित्रकर्मीले साईबर ब्युरोसँग मिलेर चलचित्रलाई यसरी पाईरेसी गर्नेको सामाजिक सञ्जाल एकान्उट नै बन्द गराउन थालेका छन् ।

यो समस्याबाट हैरान भएका बिराज भट्टले चलचित्र रिलिज भएका दुईदिनसम्म साईबरमा धाउनु प¥यो, ‘दर्शकलाई हामीले चलचित्रको दृष्य नखिच्न र सामाजिक सञ्जालमा नहाल्न आग्रह गर्दा पनि यो कार्य रोकिएन । त्यसपछि हामीले कारवाही स्वरुप यसरी हाम्रो चलचित्रको दृष्य खिचेर हालिएका सामाजिक सञ्जालका एकाउन्ट नै बन्द गराउनु प¥यो ।’ बिराजले भने ।

आफुहरुले हलमा चलचित्र हेर्ने क्रममा नखिचेर सामाजिक सञ्जालमा शेयर नगर्न बराम्बार आग्रह गर्दा पनि दर्शकहरु नमानेको चलचित्रकर्मीहरुको कथन छ । अभिनेता दीपकराजले पनि छक्का पञ्जा ५ खिचेर शेयर गरेका दर्शकलाई ती दृष्य सामाजिक सञ्जालबाट हटाउन बारम्बार अनुरोध गर्दै आएका छन् । यसरी अनुरोध गर्दा पनि नमानेपछि चलचित्रका दृष्य शेयर गरिएका एकाउन्टनै बन्द गर्न थालिएको छ ।

यसरी एकाउन्ट बन्द गर्ने कार्य चलचित्र बेहुली फ्रम मेघौलीबाट सुरु गरिएको हो । निश्चल बस्नेतले पनि साईबर ब्युरो र आफ्नो फेसबुक एकाउन्ट मार्फत चलचित्रबाट खिचेर राखिएको दृष्य सामाजिक सञ्जालबाट हटाउन १९ असोजमा आग्रह गरे,‘हाम्रो आग्रहलाई २४ घन्टासम्म पनि नमानेपछि साईबर ब्युरोको सहयोगमा उनीहरुको सामाजिक सञ्जालको एकाउन्ट नै बन्द गर्न हामी बाध्य भएका हौं ।’ निश्चलले भने । यसरी बेहुली फ्रेम मेघौली खिचेर राखिएको दुई सय भन्दा बढी एकाउन्टहरु साईबर ब्युरोबाट बन्द गरिएको पनि नश्चिलले बताए,‘आउँदा दिनमा चलचित्रलाई हलमै खिचेर राख्ने बिकृति रोक्न यसरी चलचित्रको हलमा खिचेको दृष्य शेयर गरिएको सामाजिक सञ्जालको एकाउन्टलाई नै बन्द गर्नु परेको हो ।’

हलमा चलचित्र खिचेर सामाजिक सञ्जालमा शेयर गर्ने क्रम बढेपछि चलचित्र विकाश बोर्डले पनि हालै एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य नगर्न आग्रह गरेको छ । बिज्ञप्तिमा लेखिएको छ,‘हाल नेपालमा प्रदर्शन भईरहेका नेपाली चलचित्रहरुको मुख्य ंँशहरुको भिडियो सामाजिक सञ्जाल भरी ब्यप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ । यसरी चलचित्रको मुख्य अंशहरुको अनाधिकृत दुरुपयोगबाट चलचित्रका निर्माताहरुको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अबस्था रहन्छन् ।’ बिज्ञप्तिमा लेखिएको छ,‘अर्काको सृजना तथा सम्पत्ति गैर कानुनीरुपमा विभिन्न डिजिटल माध्यममा अपलोड गर्नु कानुनीरुपमा दण्डनीय अपराध हो र यदि सकैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईले दण्ड जरिवाना र क्षतिपूर्ती समेत ब्यहोर्नु पर्ने हुन्छ । त्यसैले चलचित्रघर भित्र मोवाईल क्यामेरालगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामग्रीहरुको प्रयोग नगर्नुहुन सबैलाई अुनरोध गरिन्छ ।’ बोर्डका अध्यक्ष दिनेश डिसीले यसरी हलबाट खिचेर चलचित्र पाईरेसी गर्ने कामलाई रोक्न बोर्ड ससक्त रुपमा जुट्ने पनि राजधानीलाई बताएका छन् ।

प्रहरी नायव महानिरिक्षक तथा प्रहरी केन्द्रिय प्रवक्ता दानबहादुर कार्कीलाई निश्चल बस्नेतलगायतका चलचित्रकर्मीले भेटेर यसैसाता हलबाट चलचित्र पाईरेसीको समस्या सुनाए । त्यसपछि साईबर ब्युरो यस्ता पाईरेसी रोक्न अहिले सक्रिय भएको छ ।

यस्तो अपराध रोक्न रोक्न एउटा भिडियो नै बनाएर यतिबेला प्रवक्त कार्कीले आफ्नो सामाजिक सञ्जालबाट शेयर गरेका छन् । चलचित्र घरबाट चलचित्र खिचेर हाल्नु हुँदैन भन्ने जानकारी नभएकाहरुले अब यस्तो नगरुन भनेर भिडियो नै बनाएर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको उनले बताएका छन् । उनको भिडियोलाई अहिले चलचित्रकर्मी तथा संगीतकर्मीहरुले पनि सामाजिक सञ्जालमा व्यापक शेयर गरिरहेका छन् ।

यसरी चलचित्र खिचेर हाल्ने तथा अन्य बौद्धिक सम्पत्तिको चोरीसहित प्रयोग गर्नु अपराध भएको बताउँदै यस्तो कार्य गर्नेलाई विभिन्न सजाए हुने पनि प्रवक्ता कार्कीले सामाजिक सञ्जालमा जारी गरेको भिडियो सूचनामा उल्लेख गरेका छन् । हाललाई यसरी चलचित्रलाई अनाधिकृत राखिएको सामाजिक सञ्जालको एकाउन्ट बन्द गरिएको भए पनि आउँदो समयबाट यस्तो अपराज गर्नेलाई कानूनी कारवाहीमा लैजाने पनि कार्कीले बताएका छन् ।

The post चलचित्र खिचेर सामाजिक सञ्जालमा हाल्नेसँग सिनेकर्मी हैरान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102729/