विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने दुष्प्रयास भयो- उपप्रधानमन्त्री सिंह

काठमाडौं । 

उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्दोलन र संघर्षका दशकौंदेखि संघर्ष गरेकाहरुमाथि दुष्प्रयास भएको भन्दै आक्रोश पोखेका छन् ।

आज काठमाडौंको घट्टेकुलोमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले विधिको शासनका लागि ज्यान दिने र दुःख गर्नेहरूलाई नै प्रश्न गर्ने गरिएको भन्दै असन्तुष्टि पोखे ।

सम्बोधनको क्रममा उनले भने,‘हाम्रो देशमा पछिल्लो समय विधिको शासनका लागि संघर्ष गरेकाहरूलाई तिरस्कार गर्ने प्रवृत्ति देखा पर्यो, यसले देशलाई कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रियता कहाँ पुग्छ ? हामीले यसबारे ख्याल गर्नुपर्छ, फेसबुकमा कसैले लेख्दियो त्यसैको पछि कुद्ने ? लेख्ने र हेर्ने अधिकार सबैलाई छ । तर, सही गलत छुट्याउने जिम्मेवारी त तपाईँ हाम्रो हो नि ।’

उनले आफूले इमानदार राजनीति गरेकै कारण र कुनै गल्ती नगरेकोले काठमाडौँबाट निरन्तर चुनाव जित्दै आएको पनि स्मरण गराए ।

Source : https://newsofnepal.com/2024/11/01/676364/