चलचित्र रावायण लिएर नायक पल शाह जापानमा

टोकियो – नयाँ पुस्ताका लोकप्रिय नायक पल शाह कथानक चलचित्र ‘रावायण’ लिएर जापान आएका छन् ।

नायक शाह र नायिका पूजा शर्माद्वारा अभिनित पछिल्लो चलचित्र रावायण आईतबार शिजुओका सिटीबाट प्रदर्शन सुरु भई जापानका आधा दर्जनभन्दा बढि सहरमा प्रदर्शन हुने भएको छ ।

समुद्रपारिले शनिबार साँझ टोकियोमा आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नायक शाहले चलचित्र रावायणले समग्र मधेश क्षेत्रको जीवन्त कथावस्तु बोकेको बताए । उनले यस चलचित्रले अन्य चलचित्रभन्दा नितान्त पृथक कथावस्तु, दृश्य र नयाँ स्वादको मनोरञ्जन पस्कने दाबी गरे । दर्शकले मनैदेखि चलचित्र हेर्ने हो भने २ घण्टा १४ मिनेटको रावायण चलचित्रमा दर्शकले कुनै पनि क्षणमा बोरिङ फिल गर्न नपर्ने भन्दै नायक शाहले नेपाली चलचित्रलाई माया गरी आ-आफ्नो पायक पर्ने हलमा चलचित्र हेर्न आउन जापानबासी नेपालीहरुलाई अपिल गरे ।

जापानमा हुने चलचित्र होस् या साँगीतिक कार्यक्रममा निर्धारित समयमा कार्यक्रम सुरु नहुने, सुरु भईहाले पनि औपचारिकताको नाममा घण्टौ आसन ग्रहण, खादामाला र लामो-लामो भाषण-भिषणबाट दर्शक-श्रोता आजित भईसकेको सन्दर्भलाई जोड्दै यसतर्फ आयोजकको धारणाबारे जिज्ञासा राख्दा आयोजकका तर्फबाट बीरेन्द्र शाहीले रावायण चलचित्र प्रदर्शनका क्रममा आफुहरुले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जाहेर गरे । कार्यक्रमको प्रारम्भमा नायक पल शाहलाई स्वागत सत्कार गरेलगत्तै चलचित्र सुरु गरिने उनले बताए । यसैगरी आयोजक पक्षबाट धारणा राख्दै जोन छन्त्यालले जापानको नेपाली समुदायबीच दशकौंदेखि कार्यक्रमको आयोजना गर्दै आईरहेको अनुभवबाट सिक्दै नेपाली दर्शक-श्रोताको मनोविज्ञानलाई केन्द्रमा राखेर चलचित्र प्रदर्शनीका क्रममा उच्च सतर्कता अपनाईने प्रण गरे । उनले भने- ‘हलमा प्रवेश गरेका दर्शक-श्रोतालाई कुनै पनि हालतमा एक सेकेण्ड पनि बोर नहुने गरी कार्यक्रमको म्यानेजमेन्टमा अत्यधिक स्मार्टनेश अपनाईने छ ।’

आयोजक श्रोतकाअनुसार नेपाली कथानक चलचित्र रावायण सेप्टेम्बर २२ आईतबार शिजुओका, सेप्टेम्बर २४ मा ओकिनावा, सेप्टेम्बर २६ मा नागोया, सेप्टेम्बर २८ मा फुकुयामा, सेप्टेम्बर २९ मा निगाता, सेप्टेम्बर ३० मा ओसाका र अक्टोबर १ मा टोकियो नाकानो जेरोहलमा पर््रदर्शनी हुने भएको छ ।

पूजा शर्मा निर्माता रहेको चलचित्र रावायणमा विक्रम स्वारको नृत्य निर्देशन रहेको गीतमा अभिनेता पल शाह दोहोरो चरित्रमा देखिएका छन् । गीतको अन्तिममा निर्देशक सर्ुदर्शन थापा पनि देखिएका छन् । चलचित्रमा प्रियङ्का कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, रेवनसहित निरज सिंहको संगीत र श्री श्रेष्ठको द्वन्द्व छ ।

जापानका लागि आधिकारिक वितरकको जिम्मेवारी लिएका बीरेन्द्र शाहीले रावायण चलचित्रले जापानबासी नेपालीहरुको मन जित्ने र अत्यधिक माया पाउनेमा आफुहरु ढुक्क रहेको बताए । जसअनुसार सबै हलहरुमा चलचित्रले अपार सफलता पाउने आत्मबिश्वासले आफुहरुलाई थप उत्साहित बनाएको बताए । चलचित्र पर््रदर्शनकै लागि नायक शाह जापान आएको यो दोस्रोचोटी हो । ***
https://fb.watch/uKGAjkIugt/

The post चलचित्र रावायण लिएर नायक पल शाह जापानमा appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491097/