चार महिनामा नेपालसँग भारतले किन्यो १२ अर्ब ७१ करोडको बिजुली
काठमाडौं– चालू आर्थिक वर्ष २०८१÷८२ को पहिलो चार महिनामा नेपालले १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपियाँको विद्युत् भारतलाई बेचेको छ ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा देशभित्र खपत भएर बाँकी भएको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको हो । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ भारु ६३ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
भारतको प्रसारण संरचनाको प्रयोग गरी बङ्गलादेशमा पनि नेपालले विद्युत् निर्यात सुरु गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोज महिनामा आएको बाढी पहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत् केन्द्रहरु र प्रसारण लाइनमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको बताएका छन् ।
‘सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीका संरचनामा पहिरोले क्षति पुर्याउँदा विद्युत् उत्पादन बन्द छ। त्यस्तै अन्य साना आयोजनामा पनि क्षति पुग्दा विद्युत् उत्पादन हुन सकेको छैन। काबेली करिडोर प्रसारण लाइनलाई माईखोलामा आएको बाढीले क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाको करिब २ सय मेगावाट विद्युत् उत्पादन बन्द भयो। जसका कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित हुनपुग्यो’ कार्यकारी निर्देशक घिसिङले भने ।
उक्त क्षतिले यस वर्ष करिब ३० अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यातको लक्ष्यलाई असर गर्ने देखिएको उनले बताए ।