तातोपानी कुण्ड लमजुङका लागि प्रकृति बरदान

लमजुङ । लमजुङमा रहेको तातोपानी कुण्ड लमजुङका लागि प्रकृतिको बरदानका रुपमा लिइएको छ । सो थलोलाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गरी कुण्डलाई देशविदेशमा चिनाउनका लागि आयोजित एक दिने तातोपानी महोत्सव उपलब्धीपूर्ण तवरले सम्पन्न भएको छ ।

प्रचारप्रसारका लागि महोत्सव सञ्चालन

मर्स्याङदी महोत्सवको पाँच दिने कार्यक्रममा देश विदेशमा तातोपानी कुण्डको महत्व बुझाउन, प्रचारप्रसार गर्न र यो कुण्डलाई पर्यटकीय गन्तव्य बनाउनका लागि एक दिन तातोपानी महोत्सव गरिएको हो । विश्वकै प्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्गको जगत खण्डमा रहेको भएरपनि सो कुण्डको उचित प्रचार प्रसार नहुँदा ओझेलमा परिरहेको छ । मर्स्याङदी गाउँपालिकाको आयोजनामा भएको मर्स्याङदी महोत्सवका अवसरमा पालिका भित्रका महत्वपूर्ण स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि महोत्सव सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

उनले तातोपानी महोत्सवको उदघाटन गर्दै तोतोपानी कुण्ड गाउँपालिकाका लागि मात्र नभई जिल्लाकै लागि प्रकृतिको बरदान भएको बताए । उनले यसको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सके यो क्षेत्रमा समृद्धिको ढोका खुल्ने उल्लेख गरे । अध्यक्ष गुरुङले अन्नपूर्ण चक्रिय पदमार्गमा रहेको तातोपानीको प्रचार प्रसार भई पर्यटकीय गन्तव्य बनाउन सक्दा यसले यस रुट र आसपासको क्षेत्रमा आर्थिक गतिविधि बढाई समृद्धिको मार्ग प्रशस्त गर्ने हुन्छ भन्ने विश्वास गरेको उल्लेख गरे ।

तातोपानी कुण्डको प्रचारप्रसार र थप व्यवस्थित गर्नका लागि हामी सबैसँग हातेमालो गर्न तयार छौं, यस कार्यमा प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गर्ने छौं उनले बताए । उनले भने, ‘यसको लागि तातोपानी कुण्डको बिस्तृत योजना बनाउने लक्ष्य गाउँपालिकाको रहेको छ, निकट भविष्यमै हामी त्यो काम गर्ने छौं ।’ यसको प्रचारप्रसार भई पर्यटकको चाप बढेका जिल्ला सदरमुकामदेखि नै आर्थिक गतिविधि बढ्ने र चलायमान हुने हुन्छ गाउँपालिकाका अध्यक्ष गुरुङले उल्लेख गरे ।

सम्ुद्र सतहदेखि एक हजार २५० मिटरको उचाईमा रहेको उक्त तातोपानी कुण्ड करिब तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । अन्नपूर्ण चक्रिय पदमार्ग तथा बेसीशहर– चामे सडक खण्डको जगत बजार नजिक मर्स्याङदी नदी किनारमा पर्दछ । जगत बजारबाट १० मिनेटको पैदल दुरीमा रहेको स्थानीयबासी एवम् लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले जानकारी दिए । उनका अनुसार यो ठाउँमा आएर विदेशी पर्यटकहरू सात दिनसम्म बसेर नुहाउने काम गरेका छन् । उनले भने, ‘दुई वर्ष अघिबाट यसलाई व्यवस्थित गरी तातोपानीलाई व्यवसायिक बनाउन थालिएको हो ।’

सुरुका दुई वर्ष प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरेकोमा गएको बडादशैंंदेखि शुल्क बढाएर एक सय रुपैयाँ बनाएको उनले जानकारी दिए । उनका अनुसार त्यो शुल्कको समय निर्धारण छैन, कुनै व्यक्तिले दिनभर कुण्डमै बस्छु भने पनि पाउँछ । उनले भने,

कोही त १० मिनेटमै रिंगटा लाग्यो भनेर निस्कन्छन् भने कोही एक घण्टासम्म पनि बस्छन् । हामी समितिले एक सय रुपैयाँ तिरेपछि यतिनै समयमा नुहाएर सक्नु पर्छ भन्ने नियम बनाएका छैनौं, कोही दिनभर बस्छु भन्यो भनेपनि पाउँछ तर आधा घण्टा भन्दा धरैबेर बस्नेहरूलाई चक्कर आउन खोज्छ, भोक लाग्छ अनि निस्कन्छन् ।

सो तातोपानी कुण्डमा नुहाएपछि बाथको रोगका साथै छाला सम्बन्धि रोगहरू निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले बताए । उनका अनुसार बाथ, घुडालगायतका जोर्नी दुख्ने, एलर्जी, चाया, पोतो, चिलाउने आदि रोग निको हुन्छ । उनले भने, ‘तातोपानीको मुहानको तापक्रम ५८ डिग्री रहेको छ ।’

तातोपानी मुलको मुहानबाट नुहाउने पोखरीसम्म करिब तीन मिटरको दुरी छ, त्यसरी आउँदा २, ३ डिग्री कम हुन्छ, नुहाउनका लागि ३५ डिग्रीदेखि ४५ डिग्रीसम्म तापक्रम राख्ने गरिएको तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले बताए । उनका अनुसार तातोपानीले नुहाउने टाउँमा प्रायः ४० डिग्री तापक्रममा राख्ने गरिन्छ ।

‘पर्यटकीय आकर्षण तथा नुहाउने व्यवस्थापनका लागि ठूला साना गरी सात वटा कुण्ड(पोखरी) निर्माण गरिएको छ ।’ सबैभन्दा ठूलोमा ३० जना, मझौला खालतका दुई वटामा २०÷२० जना र साना चारवटामा ४÷५ जनाका दरले एक पटकमा नुहाउन सक्ने गरी तयार गरिएको छ महोत्सवको व्यवस्थापन पक्ष हेर्ने खुशीराम गुरुङले जानकारी दिए । उनका अनुसार महोत्सवका अवसरमा दिन यहाँ आउने पाहुनाहरुका लागि निःशुल्क नुहाउने प्रवन्ध गरिएको थियो । महोत्सवको अवसरमा एक सयभन्दा बढीले नुहाएको अनुमान छ उनले उल्लेख गरे ।

तातोपानी नुहाउनेको सबैभन्दा बढी भिड कार्तिक महिना र चैत महिनामा लाग्ने उनको अनुभव छ । त्यसमा पनि शनिबार र मंगलबारका दिनमा नुहाउनेहरूको भिड बढी लाग्ने गर्दछ । यी महिना र दिनमा दैनिक ६०– ७० जना आउँछन् भने अन्य दिनमा ७– १० जना हुन्छन् तातोपानी पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

तातोपानीमा डुबेर निस्केपछि शरिर हल्का चंगा भएर फूर्ति बढेको जस्तो भयो तातोपानी महोत्सवमा महोत्सवका पुगेकी पत्रकार सुधा ढकालले बताए । उनले भने, ‘म आधा घण्टा जति तातोपानीमा डुबेर बसे, यसले स्टिमवाथ थेरापीको काम गर्ने रहेछ जस्तो अनुभूति भयो ।’

तातोपानीले नुहाउने ठाउँमा महिला पुरुषका लागि कपडा फेर्नका लागि छुट्टा छुट्टै कोठा बनाइएको छ । तर त्यसलाई थप व्यवस्थित गर्नु पर्ने रहेछ पत्रकार ढकालको सुझाव छ ।

तातोपानी महोत्सवको उदघाटन सत्रको अध्यक्षता तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले, स्वागत सचिव बलबहादुर गुरुङले र सञ्चालन सदस्य आशीष गुरुङले गरेका थिए । आशीषले भने ‘कार्यक्रमको बीचबीचमा स्थानीय नृत्य तथा सांगीतिक प्रस्तुति रहेको थियो ।’ त्यस्तै स्थानीय अर्गानिक उत्पादनका स्टलहरू पनि राखिएका थिए ।

जगत स्थित उक्त तातोपानी कुण्ड लमजुङको सदरमुकाम बेसीशहर तथा मनाङको सदरमुकाम चामे जाने सडक खण्डको जगतसम्मको २७ किमिको दुरीमा रहेको छ । बेसीशहरबाट जिपमा जाने सुविधा रहेको छ ।

The post तातोपानी कुण्ड लमजुङका लागि प्रकृति बरदान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/103905/