दुर्गा प्रसाईलाई ३ कसुरमा मुद्दा चलाउने तयारी

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसुरमा अनुसन्धान गरिने ब्युरोले जनाएको छ। प्रसाईंविरुद्ध साइबर अपराध, कागजात किर्ते र मानहानीको कसुरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सिआइबीको तयारी छ।

प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।

सो भिडियोमा प्रयोग गरिएको सामाग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने सिआइबीले बताएको छ। 

प्रसाई यसअघि गत असोज ६ गते पनि पक्राउ गरेका थिए। विभिन्न व्यक्तिहरूलाई आरोपित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीको आधारमा प्रसाईं त्यतिबेला पक्राउ परेका थिए। उनी त्यति बेला ९ दिन हिरासत बसेर एक लाख धरौटीमा रिहा भएका थिए।

प्रहरीद्वारा दुर्गा प्रसाईंको घरबाट ३ ल्यापटप र ९ मोबाइल बरामद
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरबाट ३ वटा ल्यापटप र ९ वटा मोबाइल बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

त्यसक्रममा उनको घरमा खनतलासी गरेर ३ ल्यापटप र ९ वटा मोबाइल बरामद गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिएका छन । विद्युतीय अपराध ऐन, २०६३ विपरीतको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएकाले थप प्रमाण भेटिनसक्ने हुँदा घरबाट अन्य विद्युतीय सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रसाईंबाट बरामद ल्यापटप र मोबाइललाई जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाउने तयारी छ । डीएफएलबाट ल्यापटप र मोबाइलमा डिलिट भएका विवरण पनि रिकभर हुन्छन् ।

The post दुर्गा प्रसाईलाई ३ कसुरमा मुद्दा चलाउने तयारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104080/