नेतासित दुरी बढाउँदै साधु : मंसिर १ मा तिलक जाने, २१ मा विवाह महोत्सव, मुख्यमन्त्री अन्योलमा !
भगवान सीताराम महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न मंसिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ ।
हरेक ५ वर्षमा सीताराम विवाह महोत्सवको अवसरमा अयोध्याबाट जन्ती आउने गरेको छ । जन्तीमा अयोध्याबाट विशिष्ट सन्तमहन्तहरु आउने गर्छन् । विगतमा विवाह महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी भएका थिए । मिथिलामा जन्ती आउनु भन्दा अगावै बेहुलालाई तिलक चढाउने चलन छ । त्यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्या तिलक पठाउने तयारी गरेको छ ।
सीताराम विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंह इच्छुक छन् । जनकपुरधामबाट जाने तिलकको अगुवाइ गर्न सिंह उत्सुक छन् । यद्यपि मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय भइ नसकेको बताएका छन् । तिलकको अगुवाइ गर्न मलाई आग्रह गरिएको छ , उनले भने, तर त्यस सम्बन्धमा भारतीय पक्षबाट औपचारिकता पूरा भएपछि निर्णय लिने छु । २/३ दिन भित्रै यस सम्बन्धमा निर्णय लिने उनले बताए ।
जनकपुरधामका सामाजिक र गैर साधुबाट मुख्यमन्त्री सिंहलाई तिलकमा सहभागी हुन आग्रह गरिए पनि साधुसन्तहरुले दुरी बढाउन थालेका छन् । सीताराम विवाह महोत्सवको विधिविधान साधुसन्तहरुले गर्दै आएकाले यसमा राजनीतिक व्यक्तिको सहभागिता उपयुक्त नहुने महन्तहरुको कथन छ । विवाह महोत्सवमा अयोध्याबाट आउने जन्तीको नेतृत्व पनि सन्तमहन्तहरुले नै गर्ने र जनकपुरधामबाट जाने तिलकलगायतको कार्यक्रममा पनि साधुसन्तहरुको नै सहभागिता हुने गरेकाले मुख्यमन्त्रीको सहभागिता उनको आप्mनो चाहनामा निर्भर गर्ने साधुहरु बताउँछन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई अयोध्यामा उनका समकक्षी अथवा उत्तर प्रदेश सरकारका प्रतिनिधिले स्वागत सम्मान गर्ने औपचारिक जानकारी नआएकाले साधुसन्तहरुले नै तिलक कार्यक्रमको अगुवाइ गर्ने बताइएको छ । हाल सम्मको तयारी अनुसार जानकी मन्दिरले पठाउने तिलकको नेतृत्व उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्ने छन् ।
तिलकमा दाससंगै विभिन्न मठमन्दिरका साधुसन्तहरु, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय स्थानीय वासिन्दाहरुको सहभागिता रहने बताइएको छ । तिलकका लागि अयोध्याबाट विश्व हिन्दू परिषद्का प्रतिनिधिहरुले तिलकका सहभागीहरुको स्वागत सम्मान गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरबाट जन्ती ल्याउन आमन्त्रण ठाकुर(हजाम)द्वारा निम्तो पठाइएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाएका छन् ।
अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषीकेषका महन्त डा.रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५ सय बढीको सहभागिता रहने बताइएको छ ।
मंसिर २१ गते सीताराम बिबाहमहोत्सवको मुल समारोह हुनेछ ।त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ ।अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग , समय र रात्री विश्रामस्थल निर्धारण गरिएको छ ।
अयोध्याबाट २६ नवम्बर अर्थात मंसिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट विहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुनेछ ।
दोस्रो दिन बुधबार जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ ।
तेस्रो दिन बिहीबार बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ ।
शुक्रबार चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । शुक्रबार दिवा विश्रामको स्थान टुंगो लागेको छैन् ।
पाँचौ दिन शनिबार काँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुरहुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ ।
छैठाँै दिन आइतबार सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ ।
सोमबार सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।
आठौँ दिन मंसिर १८ गते मंगलवार जन्ती मटिहानीबाट जलेश्वर, पिपराहुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्ने छ ।
नवौँ दिन जन्ती सीताराम विवाहमहोत्सवको अवसरमा मंसिर १९ गते बुधबार दिउँसो २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।
मंसिर २० गते दशौं दिन बिहीबार जन्ती विहान धनुषाधामको दर्शन र दिउँसो गंगासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
११ औँ दिन मंसिर २१ गते शुक्रबार सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने बाह«विघा(रंगभूमि)मा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुने छ ।
१२ औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा(विदाई भोज)मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।
१३ औँ दिन जन्ती विहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छन् । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ ।
१४ औँ दिन सोमबार जन्ती विहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाईपास, गोपालगञ्ज, कुशीनगरहुँदै गोरखपुर अयोध्याम पुग्ने छ ।
The post नेतासित दुरी बढाउँदै साधु : मंसिर १ मा तिलक जाने, २१ मा विवाह महोत्सव, मुख्यमन्त्री अन्योलमा ! appeared first on Janakpur Today.