नेपाल आएका ‘गजनी’ भिलेन राउतले के भने ?
शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले तीन दिनमा २ करोड ७५ लाखको ग्रस कलेक्शन गरेको आँकडा वितरण संस्थाले सार्वजनिक गरेको छ ।
यो फिल्ममा भारतीय कलाकार प्रदिप राउतको पनि मुख्य भूमिका छ । फिल्ममा उनी ‘महामन्थ’को भूमिकामा छन् ।
फिल्मले दर्शकको राम्रो साथ पाएपछि प्रदिप नेपाल आएका छन् । सोमबार बेलुकी उनी काठमाडौंको बीग मुभिजमा दर्शकमाझ उपस्थित भए । दर्शकसँग साक्षात्कार गरेका राउत निकै खुशी देखिए ।
उनले भने–‘भगवान् पशुपतिनाथको कृपाले सबै राम्रो भएको छ । हाम्रो फिल्मलाई दर्शकहरुले रुचाइदिनुभएको छ । धेरै धेरै धन्यवाद ।’
उनी आफ्नी श्रीमतीको साथमा नेपाल आएका हुन् । उनले आज पनि काठमाडौंका विभिन्न हलमा दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम छ । यसपछि, उनी भोलि नेपालगञ्ज पुग्नेछन् । नेपालगञ्जबाट उनी भारत फर्किने कार्यक्रम रहेको फिल्मका लेखक तथा कलाकार हरिहर अधिकारीले जानकारी दिए ।
नीता ढुंगानाको निर्माणमा चन्द्र पन्तको निर्देशनमा तयार भएको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ ।