नेपाल संवत् राष्ट्रिय मान्यता घोषणामै सीमित

यस वर्षको नेपाल संवत् ११४५ नयाँ वर्ष काठमाडौं उपत्यकासँगै विभिन्न जिल्लाहरूमा विविध कार्यक्रम गरेर मनाइँदैछ। अझ अहिले नेपालभित्रमा होइन विदेशमा पनि जनस्तरमा मनाउन थालिएको छ । यो संवत्ले राष्ट्रिय मान्यता पाएको झन्डै १५ वर्ष पछि सरकारी लेटरप्याडमामा यसको प्रयोगमा ल्याइएको छ । यस संवत्का प्रणेता शंखधर साख्वाःलाई २०५७ साल मंसिर २ गते राष्ट्रिय विभूति घोषणा गरे पनि विद्यालयस्तरका पाठ्यक्रममा शंखधर साख्वाःका जीवनी पढाउन थालिएसंगै ४५ वर्षदेखि बृहत् रूपमा जनस्तरबाट शुरू गरिएको नेपाल संवत्को अभियान, आन्दोलन वा भिन्तुना आन्दोलनले व्यापकता पाउँदै गएको छ।
नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यो अभियानभन्दा बढी उत्सवमय बन्दै गएको छ। यस पृष्ठभूमिमा नेपाल संवत्को अभियानमा लामो समयदेखि क्रियाशील भई दोस्रो पुस्ताका अग्रज रूपमा चिनिएका व्यक्तित्वहरूमाझ नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यो अभियानको गन्तव्य के हो ? यो अभियानले मुलुकको राजनीतिक, सांस्कृतिक, भाषिक जागरणलगायत विविध क्षेत्रमा के कस्तो प्रभाव पारेको छ ? भन्ने विषयमा नेपाल समाचारपत्र दैनिकले २०८१ कार्तिक ९ गते शुक्रवार राउन्ड टेबुलमार्फत् बृहत् छलफल चलाएको थियो । नेपाल समाचारपत्र दैनिक प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठ, सम्पादक सागर पण्डित, सहायक सम्पादक सुनील महर्जन, संवाददाता भवनाथ प्याकुरेलको उपस्थिति रहेको सो छलफलमा व्यक्त धारणाहरू।

नेपाल संवत् जनस्तर र सरकारीस्तर सँगसँगै मनाउनुपर्दछ : सुजिव बज्राचार्य
सदस्य सचिव न्हूँद समारोह समिति– ११४५


पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा मान्यता दिएको र गत वर्ष उहाँ नै प्रधानमन्त्री भएको बेला सरकारी लेटरप्याडमा यसको प्रयोग गर्ने निर्णय गरेको थियो । यसअनुरूप अहिले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत, जिल्ला प्रशासन कार्यालयका पत्रहरूमा यसको प्रयोग गरिएको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्दछ । तर, यो निर्णय राजपत्रमा प्रकाशित नभएकोले अझै पनि कहीँ कतै यसको प्रयोगमा अप्ठ्यारो सिर्जना गरिरहेको छ । जहाँसम्म नेपाल संवत्को राष्ट्रिय मान्यताको प्रश्न छ, त्यो अझै अस्पष्ट रहेको छ।

४५ वर्षदेखि नै नेपाल संवत् आन्दोलन वा अभियान चलिरहेको छ । योभन्दा पहिले च्वसा पासाको आयोजनामा मनाउने गर्दथ्यो। नेपाल संवत् १०७६ अर्थात् आजभन्दा ४५ वर्ष नेपाल भाषा मंका खलःको आयोजनामा न्हूँद समारोह समिति गठन गरेर यो मनाउन थालिएको हो । यो आन्दोलन जनस्तरबाट मनाउन थालिएको हो । आन्दोलनका क्रममा भिन्तुना भन्ने शब्द निकै प्रसिद्ध भयो । भिन्तुना दु, भिन्तुना दु भन्ने सिक्यौं । नेपाल भाषा नबुझ्नेहरूले पनि भिन्तुुना भनेर शुभकामना दिने चलन शुरू हुँदै गयो । प्रेमबहादुर कसांकार पालामा भिन्तुना भन्ने शब्द प्रचलित भएको थियो ।४५ वर्षदेखि नेपाल संवत् जनस्तरमा मनाउन थालिएपछि जहाँ जहाँ नेवार समुदाय बढी छन्, त्यहाँ त्यहाँ नेपाल संवत् मनाउने गर्दै आएको छ । यसमा विभिन्न भाषाभाषीका मानिसहरू पनि सहभागिता हुने क्रम शुरू भएको छ । जनस्तरबाट चलेको अभियानलाई राज्यबाट सम्मान गरिनुपर्दछ । जनस्तरबाट भएको अभियानलाई नै राज्यस्तबाट टेवा पु¥याउने हो । त्यसैले नेपाल संवत् जनस्तरबाट पनि मनाउनुपर्दछ । राज्यस्तरबाट पनि मनाउनुपर्दछ । राज्यस्तरबाट मनाउन जनस्तरबाट मनाईरहेको परम्परा छाड्नु आवश्यक छैन । संस्कृति जबसम्म जनताको हुन्छ तबसम्म संरक्षण भइरहेको हुन्छ । राज्यको स्तरबाट राष्ट्रपति, प्रधानमन्त्रीबाट शुभकामना आउँछ । अहिले जनस्तरबाट भइरहेको आन्दोलनमा नेपाली सेना र प्रहरीको सहभागिता भइरहेको छ ।

सर्वप्रथम त यो नेपाल संवत् शंखधर साख्वाः भन्ने सर्वसाधारणले व्यापारीले जनताको ऋण मोचन गरेर चलाएको थियो । त्यसैले जनस्तरबाट उठेको आन्दोलनले हामी अहिलेको स्थितिसम्म आइपुगेका हौं।त्यसैले नेपाल संवत् नयाँ वर्ष सरकारीस्तरमा मनाउनुहुँदैन भन्ने होइन । तर जनस्तरबाट पनि मनाउनुपर्दछ। सरकारीस्तरमा मात्र सहिद दिवसको हालत अहिले के छ ? त्यो हेरौं न । अहिलेका बालबालिकालाई सहिद भन्ने नै थाहा छैन । त्यसैले सरकारीस्तरसँगै जनस्तरबाट यो नेपाल संवत् मनाउनेलाई यथावत राख्नुपर्दछ । हम्रो आन्दोलन पनि किस्ताकिस्तामै भइरहेको छ । उपलब्धि पनि किस्ताकिस्तामै प्राप्त हुने हो । २०५६ सालमा शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा गरियो । त्यही उपलब्धिमै टेकेर हामी यहाँसम्म आइपुगेका हौं । नेपाल संवत्लाई राष्ट्रिय मान्यताअनुरूप अहिले सबै सरकारी कार्यालमा प्रयोग गरिएको छ । यसको दायरा बढाउन केही समय लाग्ला, हामी धैर्यपूर्वक अघि बढ््नुपर्दछ । सरकारी निर्णय कार्यान्वयन गर्न निरन्तर दबाब दिइरहनुपर्दछ । राज्यसत्तामा जो बसेका छन्, तिनलाई प्रभाव पारिरहनुपर्दछ । सबै प्रधानमन्त्रीहरूले हामीले माग गरे अनुसार पुरा गर्दै आएका छन् । सबैकुरो एकैचोटी प्राप्त हुँदैन । किस्ताकिस्तामा नै प्राप्त हुने हो । अहिले प्रधानमन्त्रीलाई भेटेर नेपाली सिक्का र नोटमा नेपाल संवत् प्रयोगको घोषणा गर्न भनेका छौं । पञ्चायतकालमा कूटनीतिक नियोग र संयुक्त राष्ट्रका कार्यालयमा यसको संवत् शुरुआत भएको पहिलो दिन नेपाः डे मनाउने गरिन्थ्यो । त्यो चलन पुनः शुभारम्भ गर्न भनेका छौं ।

राष्ट्रिय मान्यताको परिभाषा गरिनुपर्ने :
किरण शाक्य
पूर्व प्रशासक गुठी संस्थान, तथा नेपाल भाषा मंका खलः ललितपुरका पूर्वअध्यक्ष

नेपाल संवत्को अभियानको कुरो आउँदाखेरी नेपाल भाषा मंका खलः र त्यसका नेता पद्मरत्न तुलाधर जोडिएको हुन्छ । त्यो बेला मंका खलः भिन्तुना ¥याली, सांस्कृृतिक जुलस र नेपाल संवत् पर्यायवाची शब्द हुन्। अहिले पनि त्यही रूपमा छ कि छैन भनेर मूल्यांकन गर्न चाहन्न । २०३६,२०३७ सालतिरको समयमा त्यो त्यतिबेलाको आवश्यकता थियो। अहिलेको आवश्यकता र परिवेश बदलिसकेको छ । त्यो चरणबाट शुरू भएको हो, आन्दोलन।

चौबाटोमा ४ जना बसेर शुरू गरेको आन्दोलन हो । ५० वर्ष हामीले देखिको आन्दोलनले विस्तारै मूर्त रुप लिँदै गएको छ । त्यतिबेलाको परिस्थितिबाट हामी यहाँसम्म आइपुग्यौं। राज्यले मान्यता दिनु र राष्ट्रिय संवत् हो भन्नु फरक विषय हो । राज्यले अहिले पनि मान्यता दिएको छैन । राज्यले अझै पनि विक्रम संवत्को मोह त्याग्न सकेको छैन । त्यो कारणले जनस्तरबाट अभियान चलाइराख्नुपर्दछ भन्ने कुरो एउटा हिसाबले जायज नै होला ।तर अहिलेको अवस्थामा सर्वोच्च अदालतदेखि लिएर सरकारी कागजातमा नेपाल संवत्को प्रयोग गरिएको छ । राज्यको नीति भन्दा अरू कारणले यो भइरहेको छ । त्यसैले संवत्को प्रयोगको सम्बन्धमा एउटा नीति नै चाहिएको छ ।अहिले पनि कतिपय सरकारी निकायले नेपाल संवत्को प्रयोग गरेको छैन । प्रयोग गरेपनि नेपाल संवत्को साल मात्र उल्लेख गर्ने गरेको छ।राज्यले कानुनसरह मान्नु पर्छ भनेको भए सबैले मान्ने गर्दछन् । अब यो रथ तान्ने काम, बाजा बजाउने काम, नेपाल संवत् मनाउने काम सरकारले गर्ने हो।म नेपाल भाषा मंका खलःललितपुरको अध्यक्ष हुँदा जुनबेला स्थानीय तहमा जनप्रनिनिधि बहाल भएको थिएन, त्यतिबेला प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लामा नेपाल संवत् नयाँ वर्ष मनाउनुपर्दछ भनेर भनेको थिएँ । राष्ट्रिय रूपमा संस्कृति मन्त्रीको संयोजकत्वमा नेपाल संवत् नयाँ वर्ष किन नमनाउने ? भन्ने मेरो प्रश्न हो । अनि जिल्लागत, पालिकागत रुपमा मनाउन शुरू गरौैं भन्ने मेरो जोड हो।जनस्तरबाट गरिरहेको कामका विषयमा कुनै टिकाटिप्पणी छैन ।

अहिले यही तरिकाले नेपाल संवत्को अभियान नयाँ पुस्तामा सहज रुपमा फैलाउने कार्यमा अनेक कठिनाईहरु छन्।पहिला पुस्ताले यसबारे जागरण ल्याए। विषय उठान गरे। नेपाल संवत्लाई राष्ट्रले मान्यता दिनुपर्छ भनेको के हो त ? त्यसमा हामी छलफल गर्नुप¥यो । हामीले के के पायौं। के के पाएन ? छलफल गर्नुपर्‍यो । एक जना प्रधानमन्त्री एउटा घोषणा गर्न बितिक्कै हामी फुरुङ हुन्छौं । फेरि अर्को प्रधानमन्त्रीले अर्को घोषण गर्नुुहुन्छ। त्यसैले राष्ट्रिय मान्यता पाइको भनेको के होत ? राष्ट्रिय मान्यता पाएको विषय अहिले पनि गौण छ।

हामी नेपाल संवत् चन्द्रमासका आधारमा मान्ने गरेका छौं । तिथि भनेको शक् संवतले पनि मान्ने गरेको छ । नेपाल संवत्का आधारमा चाडपर्व मान्छौं भनेर भ्रममा पनि पर्नुहुँदैन । चन्द्रमासको आधारमा घडी र पलाको कुरो आउँछ । हामी अभियन्ता भएको हुनाले प्राविधिक विषयमा हामीले कुरा गर्न मिल्दैन । त्यसैले राज्यलाई हामीले भन्न सक्नुप¥यो राष्ट्रिय मान्यता भनेको के हो भनेर ? हाम्रो माग के हो ? के भयो भने राष्ट्रिय मान्यता पाएकोसरह हुन्छ । वसन्तपुरमा हुने कार्यक्रममा प्रधानमन्त्री आउँदैमा राष्ट्रिय मान्यता पाएको हो भन्न सकिन्न । त्यसकारण राज्यलाई पनि एउटा दायित्व दिनुपर्दछ । दोस्रो पुस्ताले यो कुरा स्पष्ट रूपमा भन्नुपर्दछ । विक्रम संवत्लाई हटाएर नेपाल संवत्को प्रयोगमा ल्यायो भने राष्ट्रिय मान्यताले पूर्णता पाउँछ ।

पहिलो पुस्ताका अग्रजहरूले नेपाल संवत् राष्ट्रिय संवत् सरकारले यसलाई मान्यता दिनुपर्दछ भनेर नारा लगाएको थियो । उहाँहरूले किस्ताबन्दीमा मागेको थियो । तर, त्यो नाराको व्याख्या गर्ने क्रममा हामी दोस्रो पुस्तामा मानिसहरू चुक्यौं । उदाहरणको लागि ११४५ को नयाँ वर्षमा मुद्रामा उल्लेख गर्ने कुरा आउँला, अर्को वर्षमा चेकमा प्रयोग गर्ने कुरो आउला । यो हामीले मागेर प्रधानमन्त्रीले घोषणा गर्ने हो । तर, यो तरिका भएन भन्ने मलाई लाग्दछ । मुख्य कुरो भनेको नेपाल संवत्को प्रयोगको सम्बन्धमा अलग नीति तर्जुमा गर्नुपर्यो भनेर एकसूत्रीय माग राखेर अघि बढ्नुपर्ने खाँचो छ । नेपाल संवत् राष्ट्रिय भनेपछि यसमा सरकारको दायित्व रहन्छ । नेपाल संवत्को मनाउने कार्य, यसको प्रयोगमा राज्यको दायित्व अवश्य रहन्छ । राज्यसँग जोडिएको कारणले सयौं वर्षदेखि विभिन्न जात्रा, पर्वहरू अहिलेसम्म चलिरहेका हुन् । त्यसले गर्दा राज्यलाई हेर्ने हाम्रो दृष्टिकोण के हो भनेर स्पष्ट हुनुपर्ने खाँचो देख्दछु । विभिन्न जात्रा पर्व राज्यप्रमुखको उपस्थिति भनेको राज्यले गरेको सम्मानका रूपमा लिनुपर्दछ । राष्ट्रिय संवत् र राष्ट्रिय मान्यताका छुट्टै छलफल हुनु आवश्यक छ । के, के भयो राष्ट्रिय संवत् हुनेछ । के के भयो भने राष्ट्रिय मान्यता पाएको हुनेछ भनेर बुँदागत रूपमै सूचीकृत गर्नु आवश्यक छ । यो आन्दोलनमा लाग्नेहरूले यसलाई गम्भीर रुपमा लिनुपर्ने जरुरी छ । यो आन्दोलनलाई अघि बढाउने दोस्रो पुस्ताले यसलाई आआफ्नो कमीकमजोरीलाई स्वीकार गरेर अघि बढ्नुपर्दछ।

संवत्सम्बन्धी नीति खोई ? :
ज्ञानराम श्रेष्ठ
अध्यक्ष
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान

नेपाल संवत्को प्रयोगको अवस्था कुन स्तरमा पुग्यो भने राष्ट्रिय मान्यता पाएको हुन्छ भनेर बुँदागत रूपमै स्पष्ट हुनुपर्ने खाँचो छ।नेवाः समुदाय, त्यसमा पनि काठमाडौं उपत्यकाका नेवाः समुदायको अगुवाई र सहभागितामा नेपाल संवत्को अभियान वा भिन्तुना आन्दोलन चलेको थियो । त्यसो भन्दैमा यो नेवाः समुदायको मात्र अभियान हुने भयो त ? अहिले पनि यो नेवार समुदायको संवत् भनेर भ्रम धेरैमा रहेको छ।

त्यही कारणले हरेक वर्ष प्रधानमन्त्रीलाई भेट्न जाँदा नेपाल संवत्को अभियान नेवाःसमुदायले अग्ुवाई गरेकै आधारमा यो नेवाःहरूको मात्र संवत् भन्न मिल्छ भनेर प्रश्न सोध्दै आएको छु।नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चारै जना नेवाः समुदायका हुन्। नेपाली कांग्रेस संस्थापना गर्ने व्यक्तिहरू पनि नेवाःसमुदायका छन्। नेवाःहरूले स्थापना गरेको पार्टी बोकिरहन मिल्ने तर नेपाल संवत्लाई किन बोक्न नमिल्ने भनेर अहिलेका प्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका अहिलेका नेताहरू सबैलाई सोधिसकेको छु । नेपाल संवत्को प्रयोग सरकारीस्तरमा व्यापक बनाउन प्रधानमन्त्रीलाई के ले अप्ठ्यारो पारेको छ ? यससम्बन्धी निर्णय गर्न के ले रोकेको छ ? जवाफमा यससम्बन्धी ठोस काम गर्छु भनेर हरेक प्रधानमन्त्रीले भन्ने गरेको छ। नेपाल संवत्को अभियानले केही उपलब्धि हासिल नगरेको भने होईन । फेरि ती उपलब्धिहरू किस्ताबन्दीको रुपमा पाइरहेका छौं । फेरि हामीले सरकारलाई भन्यौं ‘ किस्ताबन्दी रूपमा पाइरहेको उपलब्धि पर्याप्त भएन ।’ नेपाल संवत्को प्रयोगसम्बन्धी राष्ट्रिय संवत् नीति बनाउनुप¥यो भनेर भन्दै आएका छौं । संवत्को प्रयोगमा सरकारी दृष्टिकोण के हो त ? सरकारलाई बारम्बार सोध्दै आएका छौं । कमसेकम संवत्सम्बन्धी छुट्टै नीति त बनाउनुपर्दछ । यस आन्दोलनका सर्वोच्च नेतृत्व पद्मरत्न तुलाधर हुँदादेखि हामीले यही कुरो भन्दै आएका छौं।तर पनि टुक्रा टुक्रा रुपमा मागहरु पुरा गर्दै आएको छ । कहिले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको छ, कहिले सरकारले मान्यता दिएको भनेछ, त कहिले शंखधरलाई राष्ट्रिय विभूति घोषणा छ, कहिले बिदा भनेको छ र कहिले कार्यदल गठन गरेको छ । २०५६ सालदेखि अहिलेसम्म हामी छ, सात वटा सरकारी निर्णयहरू पाइसकेका छौं । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल संवत्सम्बन्धी कार्यदल पनि गठन गरियो । कार्यदलले प्रतिवेदन पनि बुझायो तर, त्यो प्रतिवेदन अध्ययन नहुँदै सरकार फेरबदल भयो । जनताले प्रतिवेदनमा के छ भनेर अहिलेसम्म थाहा पाएको छैन । सरकारले नेपाल संवत्लाई ग्रहण गरिदिनुस् । हाम्रो आग्रह यही रहेको छ । सरकारी कामकाजमा नेपाल संवत्को प्रयोग गर्ने भनेर गत वर्ष कार्तिक २७ गते मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको थियो । तर, त्यो निर्णय राजपत्रमा निस्किएन मन्त्रिपरिषद्ले निर्णय गर्ने तर राजपत्रमा ननिस्किने पनि हुन्छ ? त्यसपछि कस्तो निर्णय भएको छ भनेर हामी सिहंदरबार गयौं । ठाडो आदेशको भरमा निर्णय गरिएको रहेछ । ठाडो आदेशको भरमा गरिएको निर्णय राजपत्रमा ननिस्किने रहेछ । मन्त्रालयबाट प्रक्रिया पु¥याएर, कानुन मन्त्रालयको सहमति लिएर मन्त्रिपरिषद्मा जान्ुपर्ने प्रक्रिया रहेछ । यो विषयमा कर्मचारी संयन्त्र र प्रधानमन्त्रीलाई पनि भेटेर भनिसकेका छौं । हामीले पैसा मागेको होइन, अरू केही मागेको होइन, मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित गरिदिनु भए पुग्छ भनेर प्रधानमन्त्री समक्ष भनेको थिएँ । राजपत्रमा प्रकाशित भएपनि भोलि काम गर्न सजिलो हुनेछ, कर्मचारी संयन्त्रलाई काम गर्न सहज हुनेछ ।

त्यसै गरी अहिले नेपाल संवत्को सरकारी कार्यालयमा प्रयोग बारे अनुगमन गर्न सरकारसमक्ष भन्दै आएका छौं । विभिन्न सरकारी कार्यालय, अड्डा र निकायले अहिले नेपाल संवत् प्रयोग गर्दै आएको छ । त्यसको अनुगमन गर्न जरुरी रहेको छ । अहिलेसम्म पाएको उपलब्धिमा हामी खुशी छौं । तर, त्यो पर्याप्त छैन । यसका लागि संवत्सम्बन्धी नीति बनाएर कानुनी रूपमै अघि बढ्नुपर्ने खाँचो छ । मुख्यरूपमा भन्नुपर्दा सरकारले नेपाल संवत्को अपनत्व ग्रहण गर्नुपर्दछ । अहिले सरकारको शून्य लगानीमा नेपाल संवत् क्यालेन्डर हेर्ने एप्स बनाएका छौं । सरकारले नेपालको संवत्को प्रयोगको लागि लगानी गरेपछि मात्र नेपाल संवत्को तिथिमिति, यसबारे सारा जनताले थाहा हुनेछ । यसले नेपाल संवत्बारे बुझाउन धेरै सहयोग गर्ने छ । त्यसपछि नेपाल संवत्को प्रयोग अझ बढ्ने छ।

पञ्चायती सत्ता ढाल्न नेपाल संवत्को आन्दोलन निकै सहयोगी रह्यो । यो कुरो अहिलेका शासकहरूले बुझेर पनि बुझपचाउनु भएन । भोलि नेपाल संवत्को आन्दोलनको गति तीब्र भयो भने के हुन्छ भनेर शासकहरूले गम्भीर रुपमा सोच्नुपर्ने खाँचो छ । बंगलादेश लगायत विभिन्न देशको गतिविधि हेर्ने हो भनेर यसो हुँदैन भनेर भन्न सकिन्न । त्यसले गर्दा नेपाल संवत्लाई राष्ट्रकै संवत् भनेर लिनु आवश्यक रहेको छ । हामी सानै उमेरदेखि विक्रम संवत् पढ्दै प्रयोग गर्दै हुर्किएकोले हामीले नेपाल संवत् प्रयोगलाई ल्याउन नसकिएको हो । नेपाल संवत्बारे अहिले स्कुलबाटै शिक्षा दिने हो अहिले विक्रम संवत् प्रयोग गरे झै यसको प्रयोग हुनेछ । त्यसका लागि शिक्षा, चेतना दिनुपर्ने खाँचो छ । राम्रो चिज सिकायौं न सबैलाई ।

जुन कुरा सिकाइन्छ, त्यही सिक्छौं । राणाकालदेखि नेपाल संवत्बारे सिकाइएन । त्यसैले हामीले सिकेनौं । वि.सं २०५६ सालमा शंखधर साख्वाः राष्ट्रिय विभूति घोषणा गरेको थियो । अहिले विद्यालयस्तरमा उहाँको जीवनीबारे र इतिहासबारे पढाइने गरेको छ। ६ कक्षाको नेपालीमा शंखधरको जीवनी राखिएको छ । त्यसपछि कक्षा ५ र ९ कक्षामा नेपाल संवत्का प्रणेता शंखधर साख्वाः भनेर राखिएको छ । यसले शंखधर साख्वाःको जनजनमा फैलाउन धेरै काम गर्‍यो । तर, उहाँको विषयमा समेटिएको पुगेन भनेर भन्दै आएका छौं । शंखधरको साख्वाःको माध्यमबाट राष्ट्रियता, गरिबी निवारण, सामाजिक कल्याणकारी लगायत विषय सिकाउन सकिन्छ । ठिमी ल्यायम्हः पुचःको अगुवाइमा विभिन्न स्थानमा नेपाल संवत्का प्रणेता शंखधर साख्वाःको सालिक निर्माणलाई तीब्रता दियौं । अहिले देशभर २८ ठाउँमा शंखधरको सालिक रहेको छ।

नेपाल संवत् र राजनीति :
उमेश स्थापित
उपाध्यक्ष नेवाःदेय् दबू, राजनीतिकर्मी

नेपाल संवत् लगभग ८ सय ८८ वर्षसम्म राजकीय संवत्को रूपमा चलेको थियो । यो संवत् चलाउँदा त्यतिबेला राजा मानदेवले चलाएको शक संवत् चलाइराखेको थियो । त्यसको साटो नेपाल संवत् चलाइएको हो । लिच्छविकालका प्रभावी राजाले चलाएको संवत्लाई हटाएर त्यतिबेला सामान्य मानिसले चलाएको संवत्लाई मान्यता दिनु राजनीतिक हिसाबले पनि ठूलो महत्वको विषय हो। एक जनताले चलाएको त्यो पनि देशको नाउँमा भएकोले यो संवत्को आफ्नै महत्व रहेको छ।

८ सय ८८ वर्ष चलिसकेपछि जब राज्य शाहहरूको हात गयो त्यसपछि यो संवत् क्रमशः ओझेल पर्दै गएको थियो । पुनः नेपाल संवत् हटाएर शक संवत् चलाउने प्रयास भए । तर, त्यतिबेला विश्वले अर्को संवत् नचिनेका कारण तिब्बतसँग एउटा सम्झौता गर्ने स्थिति आइपुग्दा फेरि नेपाल संवत् नै चलाउनुपर्ने स्थिति आएको थियो । त्यसयताका शासकहरूले नेपाल संवत्लाई प्रयोगमा नल्याउन बेलाबखत अनेक षड्यन्त्र गरेका थिए । त्यतिबेला नेपाल संवत्लाई राष्ट्रिय संवतका रूपमा मान्यता दिनुपर्दछ र नेपाल भाषालाई मान्यता दिनुपर्दछ भनेर आवाज उठाउने जगतमान वैद्यको छात्रवृति दरबार हाई स्कुलबाट खोसिएको थियो । नेपाल संवत् नयाँ वर्ष सांस्कृतिक रुपमा मनाउँछौं । तर , नेपाल संवत् सांस्कृतिक रूपमा मनाउँदा यसमा राजनीतिक रूपमा जोडिएको हुन्छ।

पहिल्लो कालखण्डमा नेपाल संवत्लाई राष्ट्रिय संवत् हुनुपर्दछ भनेर आवाज उठायौं । पहिला पहिला नेपाल संवत् जिन्दावाद भन्दा प्रहरीको लाठी र बुट खानुपर्ने अवस्था थियो । यसको अन्तर्यमा राजनीतिक विषयवस्तु जोडिएको छ । यसले त्यो बेलाको राज्य सञ्चालनको चिन्तनलाई उजागर गरेको थियो।यसले सानो घेरामा रमाएर बहुसंख्यकलाई शोषण गर्ने शासनसत्ताका विरुद्धको आन्दोलनमा नेपाल संवत् आन्दोलनले टेवा पुर्‍याएको हो।नेपाल संवतले प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएकै हो।प्रजातान्त्रिका कालमा यसलाई केही न केही रुपमा मान्यता दिएपनि नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउन निकै समय लाग्यो।राष्ट्रिय संवत्को रूपमा मान्यता पाएपनि यसप्रति अनुदार राख्ने शासनयन्त्र अझै विद्यमान छन्। यसको प्रयोगको सम्बन्धमा राज्यसञ्चालकहरूमा अझै पनि संकुचन हटेको छैन। अपनत्व लिनमा आनाकानी गरिरहेका छन् । त्यसको संकेत पनि हामीले पाइरहेका छौं । अहिले सरकारी दस्तावेजमा प्रयोग गरिएको छ । तैपनि राज्यबाट केही केही समस्या उत्पन्न गरिदिएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नोटमा नेपाल संवत् छाप्ने कुरा भए पनि पछि विक्रम संवत नै छापियो । नेपाल संवत् राष्ट्रिय संवत् भनेपछि त नोटमा छापिनुपर्ने थियो । अझै पनि वित्तीय कारोबारमा यसको प्रयोगमा आएको छैन। अनि राष्ट्रिय संवत्को मान्यताले पूर्ण पाएको भन्ने । नेपाल संवतलाई राष्ट्रिय संवत्का रूपमा प्रयोग गर्न नपाउने हो भने कसरी राष्ट्रिय संवत् हुनसक्छ भन्ने प्रश्न तेर्सिएको छ । सरकारले सारा सरकारी दस्तावेजमा नेपाल संवत् प्रयोग गर्ने भनेर मन्त्रिपरिषद्को बैठकले पारित ग¥र्यो। सोहीअनुरूप प्रयोग पनि भइरहेको छ । यसमा विषयमा सरकारी तवरबाट अनुगमन हुनुपर्दछ । सरकारले कुनै कुरा लागू गरेपछि अनुगमन संयत्र बन्नु पर्नेमा बन्न सकेको छैन ।यो भन्दा अघि जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भएका बेला नेपाल संवतमा योगदान गर्नेलाई सम्मान गर्ने भनेर एउटा फाइल तयार गरिएको थियो । त्यो फाइल अहिले पनि अघि बढ्न सकेको छैन । यी जम्मै कुराहरुले अहिले पनि नेपाल संवदलाई रोक्ने र हाबी हुन नदिने तत्वहरू हाबी रहेको छन् । सच्चा राष्ट्रवादीहरुले यस विषयमा ध्यान दिनुपर्दछ । नेपाल संवत् नेपालीहरूबीचको एकताको प्रतीक र राष्ट्रियता भावना वृद्धि गर्ने माध्यम हुन् । राजनीतिक दृष्टिकोणबाट हेर्दा यस्तै कुराहरू देखिरहेका छु ।

विक्रम संवत् भारतको राष्ट्रिय संवत हो । विक्रम संवत भारतको चन्द्रमासका आधारमा चलेको छ । तर, नेपालमा आउँदा सौर्य मासका आधारमा आएको छ । विक्रम संवत्मा अक्कल नपुर्‍याएर गरेको नक्कल हुनाले धेरै समस्या छ । विक्रम संवतका अनुसार दुई महिना अगाडि नै दशैं मनाई सकेका छन् । पञ्चाङ्ग निर्णायक समितिले भने सौर्य मास मान्दैन । सौर्य मासको गति मिलाउन नसक्दा विभिन्न बहस चलेको छ । नेपालमै जन्मेको र नेपालको नामबाटै राखिएको जसलाई राष्ट्रिय संवतका रुपमा मानिएको छ । अहिलेको असार महिना ३१ हुन्छ वा ३२ भन्ने विवाद चलिरहेको छ । त्यसले गर्दा नेपाल संवत्ले राष्ट्रियको भावनालाई समेट्न सक्छ । जुन विक्रम संवत्ले समेट्न सक्दैन । विक्रम संवत्को प्रयोग नेपाली शासकहरूको मानसिकताको प्रतीक हो।

नेपाल संवत् नयाँ वर्ष मनाउने दायरा व्यापक हुनुपर्दछ :
रश्मिला प्रजापति
उपाध्यक्ष नेवाः देय् दबू, महिला अधिकारकर्मी

मेरो जन्म वसन्तपुर नजिक मरु टोलमा भएको थियो । बुबा श्यामदास श्रेष्ठ नेपाल भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँसँगै म पनि नेपाल भाषाका विभिन्न कार्यक्रममा जाने क्रममा नेपाल संवत्को आन्दोलन हेर्ने र त्यसबारे बुझ्ने मौका मिलेको थियो । पछि विस्तारै यससँग सम्बन्धित विभिन्न संघसंस्थामा आबद्ध भएँ । यस नेपाल संवत् अभियान शुरूमा विशेषतः नेवाः समुदायलाई एकीकृत गर्न ठूलो भूमिका निर्वाह गरेको थियो । राजनीतिक वा संस्थागत कार्यक्षेत्रका हिसाबले फरक भएपनि नेपाल संवत्को न्हूँदको अभियानले नेवाः समुदायलाई जोडेको छ । नेवाः समुदायको ¥यालीले हामी भन्ने साझा भाव पैदा गरिदिएको छ । यही अभियानलाई गति दिन विभिन्न संघसंस्था खुलेका थिए । त्यस्तै, यसको प्रभाव विभिन्न जातजाति र भाषाभाषीमा पनि परेको छ । अरू समुदायका मानिसहरूले पनि आफ्नो नेवाः साथीहरु भेट््नासाथ न्हूँदया भिन्तुना भनेर शुभकामना दिने गर्छन् । हुन त नेपाल संवत् नेवाःहरूको मात्र होइन । तर, यो अभियानमा नेवाः समुदायको शुरूदेखिको अगुवाईले गर्दा नेपाल संवत् भन्नासाथ नेवाः भनेर बुझ्ने र बुझाउने गरेको छ । समग्रमा भन्नुपर्दा यसले विशेषतः नेवाः समुदायमा ठूलो जागरण ल्याएको छ ।
यसले शुरूमा काठमाडौं उपत्यकाका नेवाःहरूलाई संगठित गर्न धेरै सहयोग ग¥यो भने पछि यो क्रम काठमाडौं बाहिर पनि विस्तार हुन थाल्यो । नेवाः देय् दबूको विस्तारसँगै एकाध जिल्लाबाहेक ७४, ७५ जिल्लामा न्हूँद  र्‍याली हुन थालेको छ। त्यसपछि वल्र्ड नेवाः अर्गनाइजेसनको स्थापनापछि त्यसको माध्यमबाट संसारभरि छरिएर रहेका नेवाःहरूलाई एकजुट भएका छन् । हामीलाई थाहा छ, इतिहासको लामोसमयसम्म नेपाल संवत् राजकीय संवत्को रूपमा प्रयोग हुँदै आएको थियो । त्यसपछि शासनसत्ताबाट यो संवत् हराउँदै गएको थियो ।

नेपाल संवत्को नयाँ वर्षमा राष्ट्रपति, कार्यकारी प्रमुख र राजनीतिक दलका नेताले शुभकामना दिनु नै उपलब्धि भनेर बुझ्नुलाई आत्मसन्तुष्टि लिनु मात्र हुनेछ । नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएपछि यो सबैतिर प्रयोग गर्नुपर्ने हो । अहिले धेरैजसो पत्रपत्रिकामा नेपाल संवत् मात्र लेखेर यसको महिना र तिथि नलेख्ने गरेको पनि मैले देखेको छु । नेपाल संवत् प्रयोग गरेपछि पूरा महिना, तिथि प्रयोग गर्नुप¥यो नि । बैंकहरूमा यसको प्रयोग हुनुप¥यो । प्रधानमन्त्रीले वसन्तपुरमा बोलेअनुरूप नेपाल संवत्को प्रयोगलाई प्रक्रियागत रूपमा लान राजपत्रमा प्रकाशित हुुनुप¥यो, संवत्सम्बन्धी अलग नीति चाहियो। नेवाः समुदायको मतलाई प्रभावित गर्ने हिसाबले मात्र कार्यकारी प्रमुखहरूले बोल्दै आएका छन् । त्यसरी मात्र सोचेको देखियो । राज्यले यसप्रति अपनत्व लिन अझै बाँकी रहेको छ । हामी पनि राष्ट्रिय मान्यताको विषयमा स्पष्ट हुनु जरुरी रहेको छ । हामी स्पष्ट भए पनि सरकारलाई स्पष्ट पार्न सहज हुनेछ ।

अर्को कुरो नेपाल संवत् सबै जातजाति, भाषाभाषीले मनाउन आह्वान गर्दै जानुपर्दछ । यसबारे व्यापक प्रचार गरिनुपर्दछ । यसमा सरकारी सूचना संयन्त्र परिचालन गरिनुपर्दछ । मानिसलाई जे घोकाइन्छ त्यही सिक्ने अहिलेका बच्चाले वैशाख जेठ त भन्न आउँदैन । उनीहरूले जनवरी, फेब्रुअरी भन्दै जाने हो । त्यसैले नेपाल संवत्बारे सिकाउँदै लगिनुपर्दछ।


उमेरले ५० वर्ष भए पनि यो अभियानमा लागेको १० वर्ष भयो । त्यसैले म आफूलाई यो अभियानको तेस्रो पुस्ताका रूपमा लिएको छु । राज्यसँग जोडिनुराम्रो होला । गुठीको जग्गा भएकोले सरकारले जोडे झैं नेपाल संवत्को अभियान पनि अर्थसँग सम्बन्धित भए सरकार आफैंले जोड थियो होला पनि । जति पनि जात्राहरू राज्यसँग जोडिएको छ नि, त्यो राज्यले आफैं जोडेको नभई जग्गा भए पनि जोडिएको हो । जात्रा, पर्वमा राज्य जोडिनुलाई यो दृष्टिकोणले पनि हेर्न सकिन्छ । नेपाल संवत् सरकारले बजेट छुट्याउने हो भने कर्मचारी संयन्त्र जोडिने थियो होला ।

युवापुस्तामाझ नेपाल संवत्को महत्व बुझाउनुपर्ने :
राजाराम तण्डुकार
अभियन्ता

विक्रम संवत्लाई तुरुन्तै विस्थापित गर्ने विषय सरल छैन । जीवनभर विक्रम संवत् प्रयोग गरेको, पढेको मानिसले यसलाई हटाउन तुरुन्तै तयार नहोला । विक्रम संवत्लार्ई राष्ट्रवादको रूपमा लिने जमात पनि धेरै छन् । हो, नेपाल संवत्को प्रयोगबारे अहिलेका पुस्तालाई जागरण गर्दै लग्नुपर्दछ । म आफैंलाई नेपालको संवत् र तिथिमितिबारे राम्ररी थाहा छैन । बैंकमा प्रयोग गर्न नेपाल संवत्लाई अझ परिष्कृत गर्दै लानुपर्दछ । युवापुस्ताले स्वीकार गर्ने गरी यसको प्रयोगमा अझ परिष्कृत गर्नुपर्ने जस्तो लाग्दछ।अर्को कुरो नेपाल संवत् मनाउने विषयमा राज्य र जनस्तरबीच सहकार्य गरेर अघि बढ्नुपर्दछ।

नेपाल संवत्को तिथिमितिबारे अझै विवाद छ । त्यसैगरी विसंबारे कहिलेकाहीँ विवाद हुने गर्दछ । त्यसैले परिष्कृत गर्दै जानुपर्दछ। जसले जे देख्यो, त्यही ठिक छ भन्छ।विक्रम संवत प्रयोग गर्नेहरुलाई त्यही ठिक लाग्ला त्यसैले यस विषयमा निरन्तर चेतना जागृत गर्दै लानुपर्दछ। विद्यालयस्तरमा नेपाल संवत्बारे सिकाउँदै जानुपर्दछ । अहिले फेरि इस्वी संवत्को प्रयोग पनि व्यापक हुँदै आएको छ। अन्तर्राष्ट्रिय रूपमा इस्वी संवत् प्रचलित नै रहेको छ भने सांस्कृतिक पर्वमा नेपाल संवत् । यसको प्रयोगलाई अझ बढाऔं।

Source : https://newsofnepal.com/2024/11/02/676437/