नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता
काठमाडौँ । कतारका लगानीकर्ताले नेपालमा अवसर खोज्दै आइरहेको देखिएको छ । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तिय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको हो ।
कतारका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन । कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भने, ‘हामी थप लगानीकर्ताहरूलाई पनि प्रोत्साहित गर्नेछौ ।’ नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय बैठकमा अध्यक्ष थानी र महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न बैठकमा आर्थिक सम्बन्ध विस्तारका विषयमा छलफल भएको हो ।
त्यस्तै, कतारका अमीर सेख तमीम बिन हमाद अल थानी को गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासङ्घ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आ-आफ्नो नेतृत्वमा सदस्य नियुक्त गरि काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राखेका छन् । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि बैठकमा भयो ।
बैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुटदै गएको बताए । साथै उहाँले कतारका लगानीकर्ताहरूलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप विकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गरेका छन् । यसैगरी कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाएका छन् ।