नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता
काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । नेपालका टिकटक दर्ताबारे सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले जानकारी दिएका छन् ।
ठाकुरका अनुसार सामाजिक सञ्जाल निर्देशिका व्यवस्थित गर्ने निर्देशिका बमोजिम टिकटक नेपालमा दर्ता भएको हो ।
नेपालमा दर्ता भएसँगै टिकटकले नेपाल सरकारले तोकेका सम्पूर्ण सर्तहरु पूरा गर्ने प्रतिवद्धता जनाएको छ । जसअन्तर्गत नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामाग्री र डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका सर्तहरु उल्लेख छन् ।
सामाजिक सद्भाव बिगार्ने तथा अश्लिलता फैलाएको भन्दै तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले २०८० कात्तिक २७ गते नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, वर्तमान सरकार गठन भएपछि भदौ ६ गते सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाएको हो ।