नेपालविरुद्ध शतक प्रहार गरिसकेका हङकङका खेलाडी कर्णाली याक्ससँग अनुबन्धित
काठमाडौं– पाकिस्तानमा जन्मेर हङकङका लागि खेल्दै आएका बाबर हायतलाई कर्णाली याक्सले अनुबन्ध गरेको छ । आगामी मंसिर १५ देखि सुरु हुने एनपीएलका लागि कर्णालीले बाबर हायतलाई अनुबन्ध गरेको हो ।
बाबरले हङकङका लागि २२ ओडिआई र ७९ टी२० आई म्याच खेलेका छन् । टी–२० आईमा उनले १ हजार ९१० रन बनाएका छन् । १२२ रनको उच्च स्कोर हो । उनको नाममा दुई टी–२०आई शतक पनि छ भने १० अर्धशतक पनि प्रहार गरेका छन् । उनले सन् २०२४ मै नेपालविरुद्ध नै एक सय १० रन बनाएका थिए ।
पावर हिटिङका लागि परिचित बाबरले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपाल विरुद्धको खेल खेल्दै टी–२० आईमा डेब्यु गरेका थिए ।
बाबर कर्णालीले एनपीएलका लागि अनुबन्ध गरेको दोस्रो विदेशी खेलाडी हुन् । यसअघि कर्णालीले पाकिस्तानका हुसेन तलातलाई अनुबन्ध गरिसकेको छ ।
नेपाली राष्ट्रिय टिमका पेस बलर सोमपाल कामी मार्की प्लेअर रहेको कर्णालीको मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । राष्ट्रिय टिमका सदस्य गुल्शन झा सहित देव खनाल, भुवन कार्की, रित गौतम, मौसम ढकाल, नन्दन यादव, दीपक डुम्रे आदी कर्णालीमा अनुबन्ध भइसकेका छन् ।
यस्तै कर्णालीकै स्थानीय खेलाडी अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरी पनि टिममा छन् ।