नेपाली महिला खेलाडीको सफलता

नेपाली महिला क्रिकेट टिमले इतिहास रच्न सफल भएको छ । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । आईसीसी महिला यु–१९ महिला टी–२० विश्वकपमा नेपाल पहिलोपटक छनौट हुन सफल भएको छ ।

आगामी वर्षको जनवरी १८ बाट मलेसियामा हुने खेलमा नेपालले सहभागिता जनाउने भएको हो । खेल मैदान र हौसलाको अभावका बाबजुद पनि नेपाली चेलीहरुले खेलेको उत्कृष्ट खेलले नेपाल विश्वकप खेल्ने राष्ट्रको रुपमा छनौट भएको हो । सरकारको लगानी लगभग शून्यको अवस्था भए पनि नेपाल विश्वकपमा छनौट हुनुले नेपाल र नेपालीको शिर विश्वसामु ठाडो बन्दै गएको छ ।


बुधबार मलेसियासँग भएको अन्तिम छनौट खेलमा नेपालले सानदार प्रदर्शन गर्दै आफ्नो साख जोगाउन सफल भएको हो । विश्वकप छनौट खेलमा नेपाल र युएई आम्नेसाम्ने भएका थिए । लगातार ४ खेल जितेर १० अंकसहित शीर्ष स्थानमा रहेको युएईलाई हराउँदै नेपाल विश्व कपका लागि छनौट भएको हो । पछिल्लो समय नेपालमा खेलकुदका गतिविधि अघि बढे पनि सोचेजस्तो सफलता प्राप्त हुन नसकिरहेको परिप्रेक्ष्यमा नेपाली महिला क्रिकेट टोलीले दिलाएको सफलताले भने नेपाल र नेपालीले आफूलाई गौरवको महसुस गर्न थालेका छन् ।


आगामी वर्ष हुने विश्वकपका लागि नेपालले छनौटमा परेका खेलाडीलाई अझै परिस्कृत हुने गरी विश्वकपका लागि तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ । अबको तीन महिनापछि हुने विश्वकपमा नेपालको सशक्त उपस्थितिका लागि बन्द प्रशिक्षणका निम्ति तयारी गर्न नेपाल क्रिकेट संघले ढिलाइ गर्नुहुँदैन ।

क्यानले पुरुष क्रिकेटका लागि जति लगानी गरेको छ, महिला क्रिकेटको उत्थानका लागि त्यति लगानी गरेको पाइँदैन । खेलमा पनि महिला र पुरुषको नाममा विभेद हुनुलाई राम्रो मान्न सकिँदैन । त्यसैले क्यान होस् वा सरकारी तवरबाट हुने सहयोगमा कुनै कमी आउन दिनुहुँदैन । खेलाडीहरुले पनि आफूले राष्ट्रका लागि खेलिरहेको छु भन्ने भावनालाई बिर्सनुहुँदैन ।


नेपालले शुरु–शुरुका खेलमा राम्रो प्रदर्शन गरे पनि निर्णायक खेलमा भने नेपाल चुक्दै आएको देखिन्छ । यसलाई समेत मध्यनजर गर्दै खेलाडीले विपक्षीप्रति सधैँ आक्रामक शैलीलाई अवलम्बन गर्नुपर्ने देखिन्छ । नेपालका खेलाडीहरुमा एकै प्रकारको शैली–भाव देखिँदैन ।

त्यसैले खेल व्यवस्थापक तथा कोचले पनि यसतर्फ आफ्ना खेलाडीलाई सचेत गउानुपर्ने देखिन्छ । जे होस्, नेपाली महिलाले फुटबलमा होस् वा क्रिकेटमा, पुरुषको तुलनामा बढी सफलता प्राप्त गर्दै गएको देखिन्छ । यसलाई अक्षुण्ण राख्न नेपाली महिला खेलाडीहरुले आफूलाई अब्बल साबित गर्दै अघि बढ्नुको विकल्प देखिँदैन । नेपाली महिला क्रिकेट खेलाडीको हौसला बढाउन नेपाल र नेपाली एक ठाउँमा उभिएर सफलताको कामना गरौँ ।

Source : https://newsofnepal.com/2024/11/15/678182/