न्युयोर्क सिटीमा समग्र अपराध दर घटेपनि बलात्कार र जघन्य आक्रमणमा बृद्धि

न्युयोर्क प्रहरीले अप्रिलमा भएका अपराधबारेको तथ्यांक सार्वजनिक गर्दै न्युयोर्क सिटीमा समग्र अपराध दर घटेको तर बलात्कार र जघन्य आक्रमणमा बृद्धि भएको जनाएको छ । गत वर्षको सोही महिनाको तुलनामा न्युयोर्क सिटीमा अप्रिलमा समग्र अपराध दर ४ दशमलव ९ प्रतिशतले घटेको छ ।

सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म मुख्य अपराधहरु हत्या, बलात्कार, डकैती, जघन्य आक्रमण, चोरी, ठूलो चोरी र गाडीको चोरीका ३७ हजार ८ सय घटनाहरु भएको न्युयोर्क प्रहरीले जनाएको छ । गतबर्षको सोही अवधिमा त्यस्ता मुख्य अपराधका घटनाहरु ३९ हजार भएका थिए ।

अप्रिल २०२३ मा ३३ वटा हत्याका घटना भएकोमा गत अप्रिल महिना २३ वटा हत्याका घटना भएका छन् । अर्थात् हत्याका घटनामा ३० दशमलव ३ प्रतिशत कमी आएको छ। चोरीका घटनामा पनि कमी आएको छ । अप्रिल २०२३ मा १,१२२ वटा चोरीका घटना भएकोमा गत अप्रिलमा १,००३ वटा चोरीका घटना रिपोर्ट गरिएको थियो । गोलीकाण्डका घटनाहरुमा पनि १५ दशमलव ५ प्रतिशत कमी आएको छ ।

white and blue ford f 150

तर न्युयोर्क सिटीमा बलात्कारका घटनामा ५ दशमलव १ प्रतिशत र डकैतीमा ७ दशमलव २ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सन् २०२३ को जनवरीदेखि अप्रिलसम्म ८ हजार ३ सय ३० जघन्य आक्रमणका घटना भएकोमा यो बर्ष जनवरीदेखि अप्रिलसम्म ८ हजार ५ सय ८० वटा जघन्य आक्रमणका घटना भएका छन् ।

राष्ट्रको सबैभन्दा ठूलो सबवे प्रणालीमा ठूला अपराधहरू २३ प्रतिशतले घटेका छन् । फेब्रुअरीमा १५ दशमलव ४ प्रतिशत र मार्चमा २३ दशमलव ५ प्रतिशतले घटेको देखिएको थियो । घृणा अपराधका घटनामा भने ३९ प्रतिशत बृद्धि भएको छ । यहूदी र मुस्लिम जनसंख्यालाई लक्षित गर्ने घृणा अपराधहरू दोब्बर भएका छन्।

Source : https://www.khasokhas.com/203764