पाकेको धानको बाला र बोट अलग्गै किसान पीडित
वीरगन्ज । रातीको समयमा अज्ञात किराले धानको बाला काटी नष्ट पार्न थालेपछि पर्सेली किसानले उब्जाएको धान घर भित्र्याउन सकस भएको छ । धान काटेर पराई (नीन) लगाएको ठाउँमा र सीधा रहेको धानमा पनि रातीको समयमा अज्ञात किराले बाला काटी नष्ट पार्न थालेपछि अतिवृष्टी र अनावृष्टीको विपत्बाट जोगाउँदै किसानले पलाएको धान घर भित्र्याउन सकस भएको हो ।
खेतको गह्रामा काटेर नीन लगाएको धान भोली हेर्दा बाला र पराल अलग्गै देखिन्छ पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ का किसान चन्द्रिका पटेल र राजेश पटेलले बताए । अब किसानले के गर्ने ? के नगर्ने ? अन्योल भयो उनीहरुको गुनासो गरे । घर भित्र्याउन ठिक्क पारेको समयमा खेतमा नै पाकेको धान नष्ट भएपछि रुनु वाहेक अर्को विकल्प छैन उनीहरुले मलिन अनुहार लगाउँदै बताए ।
यसरी धानको बाला र बोट अलग–अलग भएको पटेलद्वयको मात्र गुनासो छैन । उनीहरु जस्तै पीडामा रहेको धोविनी गाउँपालिककै हरिहरपुरका अर्का किसान राजेन्द्र साहले पनि बताए । धोविनै गाउँपालिकाकै अमेरिका खेखन (मामा) घोडदौड पिपराका मुख्तार अंसारी, भिखमपुरका मुन्ना पटेल, गुलरियाका प्रेम पटेल, बकरीका किसुनदेव साहको पनि पीडा उस्तै छ । त्यसैगरी पर्साको पोखरिया नगरपालिका ४ का रामाकान्त महतो नुनियाले पनि आफ्नो खेतमा पनि यस्तै समस्या रहेको गुनासो गरे ।
अरुको जग्गा बन्धकी र ठेक्कामा कमाएका जोताहा किसान यस्तो समस्याबाट भोक न निद्रा भएको किसानी कर्म गर्दै आएका नेकपा एमाले मधेश प्रदेश सदस्य सलाउद्दिन अहमदले पनि गुनासो गरे । अब किसानले कसरी परिवार पाल्ने ? किसान पीडित भइरहेको समयमा स्थानीय सरकार भने मुखदर्शक छन् उनले आरोप लगाए । धान भित्र्याएपछि वर्षदिन भरी खाने अन्नको जोहो गर्ने र त्यसैबाट केही बिक्री गरी बालबच्चाको पढाई लेखाई चलाउन तत्पर किसान रुन र हास्नु भएका छन् उनले तर्क गरे । मैले ‘आफै खेतमा गई हेर्दा सानो सानो किरा फेला परेको देखियो’ उनले भने । भारत, चीन, युके जस्ता विकसित मुलुकमा किसानमैत्री सरकार हुन्छ । हामीकहाँ भने पाकेको अन्न जोगाउन पनि आपत छ उनले पीडा पोखे ।
पर्साको धोविनी, छिपहरमाई, कालिकामाई लगायत आधा दर्जन गाउँपालिका र पोखरिया नगरपालिकामा पनि यो समस्या देखा परेको पर्साको पकाहामैनपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी जसपाका स्थानीय नेता दीपक यादवले पनि बताए । यसको समस्या तत्काल समाधान गरिएन भने किसानलाई धेरै ठूलो मर्का पर्छ उनले पनि भने । पालिकाका जनप्रतिनिधि भने आफूहरुले अहिले के गर्न सकिन्छ र ? भन्छन् ।
यता कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कमलदेव कुशवाहाले भने किसानको समस्याका ’bout आफूहरु जानकार रहेको बताए । दिनभरी नदेखिने तर रातपरेपछि सकृय हुने यी किरा फौजी किरा रहेको उनको भनाइ छ । दिनभरी चाही यी किरा तल जरामा बस्ता रहेछन् । औषधी छरेर पनि खासै प्रभाकारी नदेखिने भयो । विकल्प भनेको साँझ विहान ‘साइपर नेप्रिन’ नामक औषधी छर्कियो भने केही मात्रामा बचाउन सकिन्छ उनले भने । यो समस्या गण्डक नहरको दक्षिण तर्फका विन्दवासी, धोविनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर गाउँपालिका र पोखरिया तथा बहुदरमाई नगरपालिकाका किसानको खेतमा पनि देखिएको छ । मंगलबार अनुगमनमा गएर धरातलीय यथार्थ त बुझेर आइयो । तर तत्कालै समाधान कसरी गर्ने भन्ने ठोस निक्र्योल निकाली नसकिएको उनको तर्क छ ।
खासमा यो ‘इयरहेड कटिङ पिलर’ अर्थात फौजी किरा पर्सामा मात्र नभई बारा र रौतहटमा आतङ्क मचाउन सकृय देखिन थालेको छ दिनभरि धानको बोटमुनि बस्ने र राति टुप्पामा नै पुगेर बाला काट्ने भएकोले एक ठाउँमा मात्र नभई किसानको ठूलो क्षेत्रफलका सयौं हेक्टर जमिनमा एकै पटक रातमा औषधी छर्न सके केही साम्य हुने कृषि ज्ञान केन्द्रका कर्मचारीको तर्क छ ।
पर्साको बझियान क्षेत्रका केही किसानले भने अहिले इयरहेड कटिङ पिलर कीरा मार्न कीटनाशक औषधि छर्न थालेको पर्साको पोखरियाका किसान तथा स्थानीय पत्रकार धर्मेन्द्र चौरसियाले बताए । अभियान नै चलाउने गरी किसान सकृय हुन त गाह्रो हुन्छ उनले भने । स्थानीय सरकार यस्तो अवस्थामा सकृय हुनुपर्नेमा त्यो सकृयता देखिएन उनले गुनासो गरे ।
पर्साको गण्डक नहरको उत्तरतर्फ रहेका ठोरी, जीराभवानी, पर्सागढी नगरपालिका लगायत थरुहट क्षेत्रका किसानलाई भने इयरहेड कटिङ पिलर कीराको आतंक नरहेको किसानहरुले बताएका छन् ।
किसानको समस्या सुन्ने साथ आफूले दुई–तीन दिन अगाडी नै कृषि अनुसन्धान कार्यालय (नार्क) का विज्ञहरु र जिल्लास्थित कृषि ज्ञान केन्द्रमा समन्वय गरी विज्ञ टोली खटाइ सकेको मधेस प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले बताए । पहिले धान रोपेका धेरै जसो किसानको धान उठिसके पनि पछुवा धानमा यो समस्या देखियो । यसको तत्काल विकल्पका लागि विज्ञहरु परिचालित गरिसकिएकोले केही दिन भित्रै यो समस्याको समाधान निस्कने मन्त्री क्षेत्रीको भनाइ छ ।
The post पाकेको धानको बाला र बोट अलग्गै किसान पीडित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104095/