प्रधानमन्त्री ओलीले कम्बोडियामा लगानी गरेको भन्दै भ्रम फैलाउने ९ वटा युट्युब च्यानल कारबाहीमा

काठमाडौं– कम्बोडियाको टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको साढे ३२ अर्ब रुपैयाँ लगानी रहेको भन्दै सामाग्री सम्प्रेषण गर्ने युट्युब च्यानल कारबाहीमा परेका छन् ।

प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका र नभएका गरी ९ ओटा युट्युब च्यानललाई कारबाही गरेको जानकारी दिएको छ । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै काउन्सिलमा दर्ता भएका काउन्सिलमा सञ्चार माध्यमका रूपमा सूचीकृत रहेका ६ वटा च्यानललाई कारबाही गरिएको हो । काउन्सिलले ती च्यानललाई निर्देशन जारी गर्दै स्पष्टीकरण मागेको छ ।

दर्ता नभएका तीन युट्युब च्यानल र फेसबुक पेजलाई भने अनुसन्धान गरी कारबाही गर्न काउन्सिलले साइबर ब्युरोलाई पत्राचार गरेको छ ।

कारबाहीमा परेका च्यानलहरूमध्ये सूचीकृत रहेका लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी र गुन्द्रुक न्युज छन् । सूचीकृत नभएका च्यानल तथा फेसबुक पेजहरूमा पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडी रहेका ​छन् ।

सोमबार पत्रकार सम्मेलन गर्दै मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईंले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका थिए । उनले आफ्ना आरोप प्रमाणित गर्न भन्दै केही कागजात सार्वजनिक गरेका थिए ।

सोपछि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।साइबर अपराधको कसुरमा मंगरबार पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि साइबर ब्युरोमा राखिएको छ । उनीमाथि साइबर अपराध, कीर्ते र मानहानीलगायतको मुद्दा चलाउने सीआईबीको तयारी छ ।

Source : https://onlinetvnepal.com/2024/11/186431/