बजारमा छ्यापछ्याप्ती प्लास्टिकका फूलमाला

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले सोमबार लाखौं रुपियाँ बराबरको प्लास्टिकका पुष्पगुच्छा, फूलमाला जफत गरेको छ। कामपा प्रहरीको टोलीले थोक बिक्री हुने महाबौद्धको विभिन्न होलसेल पसलमा छापा मारी सयौं माला, पुष्पगुच्छा र लक्ष्मीपूजामा प्रयोग हुने विभिन्न प्रकारका प्लास्टिकका प्रतिबन्धित सामग्री बरामद गरेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागले आइतबार प्रतिबन्धित प्लास्टिकजन्य सामग्री र फूलमाला जफत गर्ने सूचना जारी गरेको थियो । सो सूचनाको अटेर गरेपछि कामपा प्रहरीले छापा मारेको हो । कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार बजारमा जताततै प्लास्टिकको फूलमाला बिक्रीमा राखेको जानकारी पाएपछि जफत गरेको हो ।

विभागको सूचनाको आधारमा कामपा प्रहरी टोलीले राजधानीको थोक बिक्री हुने महाबौद्ध र कालिमाटी, ताहाचल, बानेश्वरलगायत दर्जन बढी पसल छापा मारेर प्लास्टिकको फूलमाला र पुष्पगुच्छा बरामद गरेको हो । कामपा प्रहरी बल प्रमुख पाण्डेले हिजो सोमबारबाट सबै वडाका प्लास्टिकको माला बिक्री गर्ने पसलमा प्रहरी परिचालन गरेको जानकारी दिनुभयो । कामपाले सोमबार फूलमाला जफत गर्न दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

कामपा विभागले एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा, माला बिक्री वितरण, भण्डारण, ओसारपसार र प्रयोग तथा ४० माइक्रोनभन्दा पातला झोला बिक्रीवितरण, भण्डारण, ओसारपसार तथा प्रयोगमा पूर्णरूपमा निषेध गरिएको हुनाले उक्त वस्तुहरूको उत्पादन, बिक्रीवितरण, भण्डारण, ओसारपसार र प्रयोगमा प्रतिबन्ध लगाइएको उल्लेख गरेको थियो।

सरकारले २०७२ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाको ४ किल्ला तोकेर प्लास्टिकका झोला प्रयोग निषेध गरेको थियो। वैशाख १ देखि लागू हुने गरी २० इन्च चौडाइ र ३५ इन्च लम्बाइ साइज र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला आयात, भण्डारण, बिक्रीवितरण र प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

त्यसको निरन्तरता दिँदै ६ वर्ष अघि २०७५ फागुनमा सूचना जारी गरी उपत्यकामा ४० र उपत्यका बाहिर ३० माइक्रोनभन्दा पातलो झोलामा प्रतिबन्ध लगाएको थियो । झोलासँगै अवैध रूपमा ४० माइक्रोनभन्दा कमको प्लास्टिकको फूलमाला बिक्री भइरहेको छ।

यस्तै, २०७८ माघ १७ गते प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेको थियो। पुनः १ साउन २०७९ मा देशभरि प्लास्टिकका फूल गुच्छा उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा पूर्ण रोक लगाएको थियो। सरकारले प्लास्टिकको फूलमाला बिक्रीमा रोक लगाएको सूचना जारी गरेपछि काठमाडौं महानगरबाहेक अन्य स्थानीय तहमा धमाधम बिक्री भइरहेको छ।

हामीले नियन्त्रण गरे पनि सिमानाको स्थानीय तहले वास्ता नगरेको कामपाको भनाइ छ। कामपाले हिजो जफत गरेको प्लास्टिकको माला बिक्री गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ।

Source : https://newsofnepal.com/2024/10/29/675768/