बिटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै काँग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाली कांग्रेस सप्तरीले राजविराज नगरपालिका क्षेत्रको बिटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । राजविराज नगरक्षेत्रमा बसोबास गर्ने ४ हजार ६ सय परिवार वर्षौदेखि लालपुर्जा आफ्नो नाममा प्राप्त गर्न नसकेको तथा नक्सापाश समेत रोकिँदा समस्या परेको भन्दै काँग्रेस सप्तरीका पदाधिकारी सम्मिलित टोलीले नगरमा प्रदर्शन पश्चात प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
कांग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति रामकुमार यादव र सचिव सनत कुमार मंडल सहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्राती मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाईएको ज्ञापनपत्रमा २०१६ सालमै नगरपालिका घोषणा भई नगरको मुख्य सडक मेनरोड तथा भित्रि सडकको दायाँबायाँ पुस्तौंदेखि बसोबास गर्दै आएका करिब ४ हजार ६ सय परिवार बषौं देखि लालपुर्जा पाउन नसकि समस्यामा परेको उल्लेख छ ।
जग्गा वापत नगरपालिकाबाट पाएको बिटौरी रसिदको आधारमा बसोबास र विगतमा समस्या परेका बेला सोही बिटौरी रसिदमा उल्लेखित जग्गा बैंक र वित्तिय संस्थामा धितो राखि ऋण कर्जा लिने गरेका उनीहरु अहिले सो सेवा सुविधाबाट वञ्चित भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । “विगत ७ बर्ष देखि श्रेस्ता र कम्प्युटरमा कुनै रेकर्ड नभएको भन्दै मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि नगरवासी बैंक तथा वित्तीय संस्थाबाट पाउनुपर्ने सेवा सुविधाबाट बञ्चित छन्, ज्ञापनपत्रमा भनिएको छ,– बिटौरी जग्गाको बर्षौं देखि कर लिने गरेको राजविराज नगरपालिकाले लालपुर्जा र नक्सापास उपलब्ध नगराउँदा बैंक तथा वित्तिय संस्थाले त्यस्तो जग्गा धितो राख्न मानेका छैनन् । जसकारण व्यापार, व्यवसाय चौपट्ट हुनुका साथै शिक्षा, उपचार र व्यापारिक कारोवार लगायतका काम गर्न पनि नगरवासीलाई समस्या परेको छ ।
पुस्तौंँ देखि बसोबास गर्दै आएको आफ्नै जग्गा पनि समस्या पर्दा बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिन नपाउनु दुखद र निन्दनीय भएको भन्दै ज्ञापनपत्र मार्फत नगरवासी उक्त पीडा अविलम्ब सम्बोधन नभए बाध्य भइ चरणबद्धमा उत्रिने चेतावनी समेत दिईएको छ । काँग्रेसका क्षेत्रिय सभापति उमेश मिश्र, जिल्ला सदस्य शम्भुलाल देव, प्रेस युनिययन सप्तरीका सचिव रामानन्द देव, महिला नेतृ निर्मला चौधरी समेतको उपस्थितिमा सो ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मग्राती तत्कालै सम्बन्धित कर्यालययमा पठाउने प्रतिवद्धता जनाएको नेपाली कांग्रेस सप्तरीले जनाएको छ ।
The post बिटौरी जग्गाको समस्या समाधान गर्न माग गर्दै काँग्रेसद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र appeared first on Janakpur Today.