मंसिर महिनाका लागि बैंकहरुको ब्याजदर थप घट्यो 

काठमाडौँ । वाणिज्य बैंकहरुले ब्याजदर थप घटाएका छन् । बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गर्दै निक्षेपको ब्याजदर थप घटाएका हुन् ।

मंसिर महिनामा वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.२१७४ प्रतिशतबिन्दुले घटेको छ । 

योसँगै कार्तिक महिनामा अधिकतम ६.१८७८ प्रतिशत ब्याज दिएका २० वाणिज्य बैंकहरुले मंसिरमा व्यक्तिगत निक्षेपको ब्याजदर औसतमा ५.९७०३ प्रतिशत ब्याज दिने भएका छन् । 

मंसिरमा २० मध्ये ११ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् भने ८ वाणिज्य बैंकहरुले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन् । त्यस्तै, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.२ प्रतिशतबिन्दुले बढाएको छ । 

मंसिरमा सबैभन्दा धेरै ब्याज माछापुच्छ्रे बैंकले घटाएको छ भने सबैभन्दा बढी ब्याज एनआईसी एशिया बैंकले दिने भएको छ । एनआईसी एशियाले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७९ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, सबैभन्दा कम ब्याज लक्ष्मी सनराइज बैंकले ५.५ प्रतिशत ब्याज दिने भएको छ ।

Source : https://arthasarokar.com/2024/11/the-interest-rate-of-banks-has-further-decreased-for-the-month-of-november.html