मकवानपुरमा करेन्ट लाग्दा २ जना बालिकाको मृत्यु, छुरा प्रहारवाट एक जना घाइते

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ। करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने अन्दाजी ९ वर्षीया बालिका र मकवानपुर हेटौडा १६ बस्ने अन्दाजी ७ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाइएको छ।

शनिबार दिउँसो हेटौंडा १६ चिसापानी चोकबाट २०० मिटर पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के.भीको पिन इन्सुलेटर भाँचिएको थियो । इन्सुलेटर भाँचिएर फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह हुदा पोल नजिक जमेको पानी भएर हिडिरहेका २ बालबालिकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यता काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको काममा खटिएका मजदुरबीच झगडा हुँदा एक जना छुरा प्रहारको कारण घाइते भएका छन् ।

द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा मजदुरबीच भएको झगडामा छुरा प्रहार हुँदा ओखलढुङ्गा जिल्लाका २५ वर्षीय निम शर्मा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

बागमती प्रहरीका अनुसार कैलाली धनगढीका २६ वर्षीय करण रानाले शर्मालाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट शर्माको दायाँ हातको नाडीको नशा काटिएकोमा हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । मकवानपुर ठिंगन इलाका प्रहरीले छुरा प्रहार गर्ने रानालाई पक्राउ गरेको जनाएको छ ।

The post मकवानपुरमा करेन्ट लाग्दा २ जना बालिकाको मृत्यु, छुरा प्रहारवाट एक जना घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102164/