महिला टी २० विश्वकप नवौं संस्करणमा

काठमाडौं ।

हाल महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता दुबईमा जारी छ । यो प्रतियोगिताको नवौं संस्करणको हो । पुरुष टी २० विश्वकप सन् २००७ देखि शुरु भएको हो । यसको लोकप्रियता देखेपछि महिला टी २० विश्वकप दुई वर्षपछि सन् २००९ मा इंग्ल्यान्डबाट शुरु गरिएको हो ।

नवौं संस्करणको विश्वकप पहिले बंगलादेशमा आयोजना हुनुपर्ने थियो । बंगलादेशमा राजनीतिक उथुलपुथुल भएपछि बंगलादेशले प्रतियोगिता आयोजना गर्न अक्षम भएको थियो । यसपछि श्रीलंका र भारतलाई प्रतियोगिता आयोजना गर्न निवेदन गरिएको थियो ।

दुबै राष्ट्रले प्रतियोगिता आयोजना गर्न अस्विकार गरेपछि अन्तिम विकल्पको रूपमा यूएईलाई आयोजक राष्ट्र बनाउनुपरेको हो । यसपटक पुरस्कार रकम पनि गत संस्करणमा भन्दा धेरै बढाएको छ । गत संस्करणको विजेता अस्टे«लियाले १ मिलियन डलर पाएकोमा यसपटक जित्ने टिमले २.३४ मिलियन डलर पाउनेछ ।

गत संस्करणको दोस्रो हुने टिम दक्षिण अफ्रिकाले पुरस्कार रकम ५ लाख डलर पाएको थियो । यसपटक दोस्रो हुने टिमले १.१७ मिलियन डलर पाउनेछ । यसैले यस संस्करणको महिला टी २० विश्वकप विशेष बनेको छ ।
यस प्रतियोगिताबारे केही तथ्यहरुः
—पहिलो संस्करणको उपाधि इंग्ल्यान्डले जितेको । इंग्ल्यान्डमा प्रतियोगिता भएकोले फाइनलमा न्युजिल्यान्डलाई इंग्ल्यान्डले सहजै पराजित गरी उपाधि जितेको ।
—तर, यसपछि लगातार तीन संस्करणको उपाधि अस्टे«लियाले जितेको । २०१६ मा भएको प्रतियोगितामा वेस्ट इन्डिज च्याम्पियन बनेपछि अस्टे«लियाको लगातार चौथो उपाधि जित्न बे्रक लाग्यो ।
—अस्टे«लियाले पछिल्ला तीन संस्करणको उपाधि जितेर प्रतियोगितामा सर्वाधिक ६ पटक उपाधि जितेको ।
—अस्टे«लिया दोस्रो संस्करणदेखि गत आठौं संस्करणसम्म लगातार सात फाइनल खेलेको । जसमा, ६ मा जित र १ मा हार बेहोरेको ।
—९ संस्करणको प्रतियोगिता भएपनि अहिलेसम्म १२ टिमले मात्रै खेलेको । हाल जारी टी २० विश्वकपमा स्कटल्यान्डले डेब्यु गरेको ।
—आयोजक राष्ट्रको टिम दुई संस्करणमा मात्रै उपाधि जित्न सफल । २००९ को विश्वकपमा इंग्ल्यान्ड र २०२० को विश्वकपमा अस्टे«लियाले उपाधि जितेको ।
—उच्चतम टिम स्कोर इंग्ल्यान्डले गत संस्करणको विश्वकप २०२३ मा सेट गरेको । इंग्ल्यान्डले पाकिस्तानविरुद्ध ५ विकेटको क्षतिमा २१३ रन बनाएको । प्रतियोगिताको इतिहासमा २ सय रन पार गर्ने इंग्ल्यान्ड पहिलो र अहिलेसम्म एक्लो टिम हो ।
—न्युनतम स्कोर बंगलादेशको नाममा छ । बंगलादेशले २०१८ को विश्वकपमा वेस्ट इन्डिजविरुद्ध ४६ रन बनाएको । दोस्रो न्युनतम स्कोर पनि बंगलादेशकै नाममा छ ।
—व्यक्तिगत उच्चतम रन अस्टे«लियाकी मेग लानिङले बनाएकी । उनले २०१४ को विश्वकपमा आयरल्यान्डविरुद्ध ६५ बलमा १२६ रन बनाएकी । यसअघिको व्यक्तिगत उच्चतम रन वेस्ट इन्डिजकी दिनद्रा दोतिनको नाममा थियो । उनले २०१० को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नटआउट ११२ रन बनाएकी ।
—उत्कृष्ट बलिङ वेस्ट इन्डिजकी खेलाडी दिनद्रा दोतिनको नाममा छ । उनले २०१८ को विश्वकपमा बंगलादेशविरुद्ध ५ रन दिएर ५ विकेट लिएकी । यसअघि २०१६ को विश्वकपमा दक्षिण अफ्रिकाकी सुने लुसले आयरल्यान्डविरुद्ध ८ रन दिएर ५ विकेट लिएकी उत्कृष्ट बलिङ थियो ।

Source : https://newsofnepal.com/2024/10/09/672769/