मायाका रंगहरुबाट पनि पल शाह निष्कासित

काठमाडौं । १० महिना अघि अभिनेता पल शाह २५लाख रुपैयाँ पारिश्रमिक लिने सर्तमा चलचित्र ‘मायाका रंगहरु ः कलर्स अफ लभ’मा अनुबन्धित भएका थिए । अभिनेता शाह यतिबेला यो चलचित्रबाट निस्कासित भएका छन् ।

एक महिना भित्रै उनी चलचित्रबाट निष्कासित भएको यो दोश्रो पटक हो । तीन साता अघि उनी अर्को चलचित्र कल्लीबाट पनि निष्कासित भएका हुन् । चलचित्र कल्लीमा पललाई हटाएर सौगात मल्ललाई अनुबन्धित गरिएको छ भने चलचित्र मायाका रंगहरुमा पलको ठाउँमा अर्का अभिनेता मनिष राउतलाई दुई दिन अघिमात्र अनुबन्धित गरिएको छ । पल शाह निरन्तर विवादमा पर्दै आएकोले पनि निर्माण पक्षले उनलाई यो चलचित्रको शिर्ष भूमिकामा उतार्न अश्विकार गरेको छ ।

केवल तामाङको निर्माण तथा डेब्यु निर्देशकीय रहने चलचित्र मायाका रंगहरु तिहारको लगत्तै भारतको सिक्किमबाट छायाँकन हुने भएको छ । इन्डो–नेपाली चलचित्र भनिएको यसमा गत मँसिरमै पल शाह अनुबन्धित भएका थिए । उनले चलचित्र पुजार सार्कीको छायाँकन सम्पन्न गरेर मायाका रंगहरुमा काम गर्ने भनेका थिए । तर त्यसपछि पल शाह अर्को चलचित्र रावायणमा अनुबन्धित भए । पलले रावायणमा समय दिएपछि यो चलचित्रको छायांकन पछि सारिएको हो । गत भदौमा रिलिज भएको रावायणले बक्स अफिसमा राम्रो व्यापार गर्न नसकेपछि निर्माण पक्षले मायाका रंगहरुमा अब पल शाहलाई नराख्ने निर्णय गरेको हो । पलको पुजार सार्कीले राम्रो व्यापार गरे पनि रावायण बक्स अफिसमा चम्किन सकेको थिएन् ।

अभिनेता पल शाह पछिल्लो समय सामाजिक कार्यमा व्यस्त छन् । एक साता अघिको अबिरल बर्षाका कारण काभ्रेको रोशी खोलाले घर बगाएका बाढी पीडितलाई उनी अहिले राहत प्रदान गर्न व्यस्त छन् । त्यसैले चलचित्र मायाका रंगहरु’bout अभिनेता पलले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

पल शाहलाई हटाईएको प्रसँगमा उनलाई हटाईएको भन्दा पनि चलचित्रलाई नयाँ शिराबाट निर्माण गर्न लागिएको यसका निर्देशक केबल तामाङले बताएका छन् । प्रेमगीत ३ बाट नायकको रुपमा डेब्यु गरेका मनिष मायाका रंगहरुमा मुख्य भूमिकामा अनुबन्धित भएको र चलचित्रको छायाँकन तिहार लगत्तै सुरु हुने केबलले बताए ।

अभिनेता राउतको जन्मदिनको अवसरमा सोमबार यो चलचित्रको फस्र्टलुक्स (पोस्टर) पनि सार्वजनिक गरिएको छ । प्रमिस ईन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन भारतको सिक्किम, दार्जिलिङ, इलाम र काठमाडौंमा गरिनेछ । जसमा सौरभ लामाको डिओपी, शेखर ज्ञावालीको कथा, पटकथा तथा संवाद, तारा प्रकाश लिम्बु, उर्गेन दोङ र दीपक शर्माको संगीत, सुष्मा सोनम र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

यो चलचित्रले नेपाल र भारतको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई अझै मजबुत बनाउन सहयोग पुग्ने विश्वास निर्देशक तामाङको छ । यो चलचित्रलाई नयाँ वर्ष २०८२ को आसपासमा रिलिज गर्ने लक्ष्य राखिएको पनि उनले जनाएका छन् ।

The post मायाका रंगहरुबाट पनि पल शाह निष्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102047/