युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा : जापान
काठमाडौं – जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिएका छन् । पश्चिम र युक्रेनले रूसको कुर्स्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेको समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गरेका हुन् ।
उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ । ‘यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,’ इवायाले भने, ‘हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौँ ।’
मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गरेका छन् । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरूमाथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ । उनले भने, ‘जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत छ ।’
इवायाले टोकियो र किएभका लागि युक्रेनी समकक्षी एन्ड्री सिबिगासँग ‘द्विपक्षीय उच्चस्तरीय सुरक्षा नीति वार्ता’ गर्न सहमत भएको बताएका छन् । सिबिगाले उत्तर कोरियाली सेना युक्रेन द्वन्द्वमा प्रवेश गर्नु भनेको ‘युक्रेनमा युरोपेलीको मात्र नभई विश्वव्यापी सुरक्षा संरचनाको भविष्य पनि तय भइरहेको प्रमाण हो’ भनेका छन् ।
युक्रेनी मन्त्रीले आफ्ना जापानी समकक्षीको भ्रमणलाई ‘विशेष गरी यस्तो कठिन समयमा ऐक्यबद्धताको महत्वपूर्ण सङ्केत’ भनेका छन् । उनले किएभको टोकियोसँगको सम्बन्धको प्रशंसा गर्दै भने, ‘हामीबीच आठ हजार किलोमिटर दूरी भए पनि हाम्रा देशहरू सामाजिक तथा मानवीय नैतिक मूल्य मान्यतामा निकै नजिक छन् ।’
The post युक्रेनविरूद्ध उत्तर कोरियाली सेनाको प्रयोग पूर्वी एसियाको सुरक्षाका लागि खतरा : जापान appeared first on Samudrapari.