युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ
काठमाडौँ। युवती बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार हवल्दार जोशीले पञ्चेश्वर गाउँपालिका-२ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेका हुन् ।
हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जोशी कञ्चनपुरको वेदकोट नगरपालिका-५ का स्थानीय हुन् । घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।
प्रहरीका अनुसार युवती शुक्रबार बिहान ४ बजे पानी ल्याउने भन्दै जर्किन (प्लास्टिकको ग्यालन) लिएर घरबाट निस्किएकी थिइन् तर दिउँसोसम्म पनि घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए ।
बेपत्ता किशोरीको अवस्था अज्ञात रहेको छ। उनीहरूले चौकी इन्चार्ज जोशीले नै किशोरीलाई बेपत्ता पारेको आरोप लगाएका छन्। दुवै जनाबीच विगतदेखि नै फोन सम्पर्क र भेटघाट हुने गरेको स्थानीयको आरोप छ । प्रहरीका अनुसार युवतीले पानी ल्याउने भन्दै लगेको जर्किन प्रहरी चौकी नजिकै फेला परेको छ ।
युवती बेपत्ता भएको घटनामा चौकी इन्चार्ज पक्राउ परेपछि त्यहाँ कार्यरत अन्य प्रहरी समेत जिल्ला तानिएका छन् । चौकीमा कार्यरत एक जना प्रहरी सहायक हवल्दार र दुई जना प्रहरी जवानलाई जिल्ला झिकाइएको जनाइएको छ । उनीहरूको ठाउँमा जिल्ला प्रहरी कार्यालयबाट नयाँ प्रहरी खटाइएको छ ।
The post युवती बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इन्चार्ज पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/102172/