रजिस्टारले गरे मनपरी सरुवा, कर्मचारीको २४ घण्टे अल्टिमेटम

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले नियम मिचेर उच्च तहका कर्मचारीको व्यापक सरुवा गर्नुभएको छ। कार्यभार सम्हालेको एक महिना बित्न नपाउँदै रजिस्ट्रार रिजालले व्यापक कर्मचारी सरुवा गर्नुभएको हो।

रजिस्ट्रार प्राडा रिजालले कर्मचारी प्रशासन महाशाखाका सहप्रशासक भीमबहादुर श्रेष्ठलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काजमा खटाइएको छ। अवकाश हुन करिब ९ महिना बाँकी रहँदा श्रेष्ठलाई  नियम विपरीत शिक्षण अस्पताल सरुवा गरिएको छ।

रजिस्ट्रार प्राडा रिजालको ठाडो हस्तक्षेपको विरोधमा कर्मचारीले  अल्टिमेटम दिएका छन्। त्रिवि कर्मचारी सङ्घका अध्यक्ष छत्र कार्कीले रजिस्टार रिजालले गरेको निर्णय तत्काल फिर्ता लिन चेतावनी दिनुभएको थियो। कर्मचारीलाई सरुवा गरेको जानकारी पाए लगत्तै सङ्घ आबद्ध कर्मचारी रजिस्ट्रार रिजाल समक्ष पुगेका थिए।

सङ्घले रजिस्ट्रार रिजाललाई हिजो मंगलबार ४ बजेसम्म निर्णय फिर्ता लिन आग्रह गरेका थिए। सङ्घले निर्णय फिर्ता नगरे आज बुधबारबाट ज्ञापन पत्र बुझाएर आन्दोलन गर्ने चेतावनी दिएको छ। त्रिवि शिक्षक कर्मचारी सम्बन्धी नियम २०५० को उपनियम ५ को ३.३ मा ‘उमेरको कारण अनिवार्य अवकाश हुन एक वर्ष वा सो भन्दा कम अवधि बाँकी रहेका कर्मचारीलाई निजले सरुवा मागेको अवस्थामा बाहेक सरुवा गरिनेछैन’–उल्लेख छ।

सहप्रशासक श्रेष्ठको नोकरी अवधि करिब ९ महिना मात्र बाँकी छ।  उच्च स्रोतका अनुसार रजिस्ट्रार रिजालले नेपाली कांग्रेस निकट कर्मचारीलाई भित्री घेरामा राखेर काम गर्न चाहेको आरोप कर्मचारीको छ। रजिस्ट्रार रिजालले सूचना महाशाखा प्रमुख योगेन्द्र दाहाललाई सहप्रशासकको जिम्मा दिनुभएको छ। दाहाल नेपाली कांग्रेस निकटका कर्मचारी हुन भने श्रेष्ठ एमाले निकटका कर्मचारी रहेको कर्मचारीको भनाई छ।

चैत ३० गते नियुक्ति हुनुभएका रजिस्ट्रार रिजालले  अधिकांश काग्रेंस निकट कर्मचारीलाई आफू अनुकूलको काम गर्न सरुवा गर्नुभएको आरोप लागेको छ ।  प्राडा रिजालले  नियमित काम गर्न छाडेर कर्मचारी सरुवामा लाग्नेगरेको संघको आरोप छ।

 कर्मचारी सङ्घसँगको भेटमा रजिस्ट्रार रिजालले उपकुलपति, रेक्टर र मेरो संयुक्त निर्णय गरी सरुवा गरेको बताउनुभएको थियो। हामी दुई दिन बसेर  लिस्ट तयार गरेर निर्णय गरेका हौ । सङ्घसँगको भेटमा रजिस्ट्रार रिजालले भन्नुभयो– यो मेरो एकल केदार रिजाल रजिस्ट्रार को निर्णय होइन संयुक्त निर्णय गरेका हौ ।

‘भिसि र तपाईंहरुलाई नियम यो हो भन्ने थाहा छैन ? नियम यस्तो छ भनेर जान्नु भएन ?  नियम कस्ले पढाउनु भयो होला । नियम यस्तो छ भनेर जान्नु भएन कर्मचारीलाई पेल्न खोज्नुभएको हो–सङ्घका प्रतिनिधिले रिजाललाई सोधेका थिए।

‘सचिवालयमा समेत परिवर्तन गर्नुभएको छ। नविन्द्र भण्डारीलाई किन फेर्नुभयो । भोजराज भट्ट र निर्मल पोखरेललाई त कारणले भएर होला सरुवा गर्नुभयो । भीमबहादुर श्रेष्ठलाई किन ? अनि तपाईंले मनपरी गर्न मिल्छ । त्रिवि कर्मचारी सङ्घले फोन गर्दा हस्तक्षेप गर्न खोजेको भन्ने ? आरोप लगाउने ? हामीलाई सोध्ने अधिकार हुन्छ, सोध्नु पर्छ । तपाईंको सङ्केत राम्रो भएन । अयोग्यलाई स्थापित गरेर योग्यलाई हटाउने ? यो मिल्दै मिल्दैन ।

आज ४ बजेसम्म निर्णय फिर्ता लिनुस् नभए आन्दोलन गर्नेछौ । कर्मचारी सङ्घले रजिस्ट्रार रिजाललाई स्वतन्त्र नभएर नेपाली कांग्रेस निकट भनी आरोप लगाएका थिए । उनीहरूले भनेका थिए–तपाई त स्वतन्त्र भएर निवेदन दिनुभएको होइन । आस्थाको आधारमा एमालेका साथीहरूलाई छानिछानी सरुवा गर्ने ? भन्दै रिजालमाथि उत्रेका थिए।

रजिस्ट्रार कार्यालयले त्रिवि सेवा आयोगमा कार्यरत केदारनाथ ढकाललाई सूचना महाशाखामा, श्रेष्ठलाई हटाएर सूचना महाशाखा प्रमुख योगेन्द्र दाहाललाई कर्मचारी प्रशासन महाशाखाका सहप्रशासक, रजिस्ट्रार कार्यालयमा कार्यरत नविन्द्र भण्डारीलाई परीक्षा नियन्त्रण कार्यालय बल्खु, त्रिवि शिक्षण अस्पतालमा कार्यरत कमल घिमिरेलाई रजिस्ट्रार कार्यालय, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा कार्यरत गोविन्दबहादुर थापालाई शिक्षाध्यक्षको कार्यालय, पनिकामा कार्यरत भोजराज भट्ट र निलम पोखरेल परीक्षा नियन्त्रण त्रिबिमा सरुवा गरिएको छ । सरुवाको विषयमा जानकारी लिन रजिस्ट्रार प्राडा रिजालसँग सम्पर्क गर्दा मोबाइल उठाउनुभएन ।

यसैबीच पदभार ग्रहण गर्दा दोहोरो सुविधा नलिने घोषणा गर्नुभएका उपकुलपति प्राडा बरालले आवास सुविधा बापत फ्ल्याटमा बस्नुभएको छ। उहाँको फ्ल्याट सजावट गर्न र भाँडाकुँडा खरिद गर्न करिब ३ लाख खर्च भएको स्रोतको भनाई छ।

त्यस्तै अघिल्लो कार्यकारीको निर्णय उल्ट्याउँदै उपकुलपति प्राडा बरालले आफ्नो कार्यालयमा काम गर्ने कर्मचारीलाई ५० प्रतिशत ओभर टाइम भत्ता दिने निर्णय गरेको छ। अन्य पदाधिकारी कार्यालयमा कार्यरत कर्मचारीलाई ३० प्रतिशत मात्र व्यवस्था गरेको छ।

 

Source : https://newsofnepal.com/2024/05/08/642622/