विवाह गर्ने भन्दै बोलाएर सामुहिक बलात्कार, प्रेमीसहित चारजना पक्राउ
काठमाडौं– दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। दाङ गढवा गाउँपालिका–५ की १९ वर्षीय युवतीमाथि प्रेमीसहित चार जनाले बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी ईश्वर थापाले जानकारी दिए।
युवतीको सोही ठाउँका १९ वर्षकै किरण चौधरीसँग केही समयदेखि प्रेमसम्बन्ध थियो । किरणले युवतीलाई फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएका थिए । उनले नै आफ्ना साथीहरूलाई पनि बोलाएर बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
ती युवतीको शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न युवतीका प्रेमी किरणसहित चारजनालाई नै पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा गढवा गाउपालिका( ५ मंघरका २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरीसमेत रहेका छन्।
सामुहिक बलात्कार मुद्दामा अदालतबाट म्याद लिएर उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।