विवाह महोत्सवको भव्य तयारी : अयोध्याबाट जन्ती आउने, जानकी मन्दिरमा सप्ताहव्यापी आयोजन
भगवान सीताराम विवाह महोत्सव भव्य रुपमा मनाउन तयारी थालिएको छ । अयोध्या राम मन्दिर निर्माण समितिका सचिव सम्पत्त रायको नेतृत्वमा आउने विशाल जन्तीको व्यवस्थापन र जानकी मन्दिरमा कार्यक्रम आयोजनको तयारी सुरु भएको छ ।
आगामी मंसिर २१ गते विवाहपञ्चमीको मूल समारोह सीता स्वयम्बर र विवाह महोत्सवको आयोजन हुने छ । जानकी मन्दिरले सप्ताहव्यापी रुपमा विवाह महोत्सवको आयोजन गर्दै आएको छ । मिथिलामा विवाहको विधि र रामायणमा वर्णित सीताराम मिलन प्रसंगलाई विवाहमहोत्सवमा विशेष ध्यान दिइन्छ ।
भगवान रामको नगरदर्शन, फुलवारी लिला, मटकोर, स्वयंर, विवाह महोत्सव, रामकलेवा लगायतको विशेष आयोजन गरिन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्याका सन्त चम्पत्त राय लगायतको अग्रसरतामा विवाह महोत्सवमा अयोध्याबाट जन्ती ल्याउन थालिएको हो । झण्डै दुई दशकदेखि भारतको अयोध्याबाट जनकपुरधाममा जन्ती आउन थालिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जन्तीमा सहभागी भएका थिए ।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा आएका थिए । नेपाल र भारतबीच त्रेता युगदेखि नै ‘बेटी रोटी’को सम्बन्ध रहँदै आएको छ । जनकपुरधाममा प्राकट्य सीता माता र अयोध्यामा अवतरित भगवान रामबीच त्रेता युगमा बिबाह सम्पन्न भएदेखिको संस्मरणमा जानकी मन्दिरले हरेक वर्ष बिबाहमहोत्सवको आयोजनागर्दै आएको छ । रामजानकी विवाह महोत्सव तयारीका लागि जानकी मन्दिरले सम्पन्न गरेको बैठकमा विगतको भन्दा भव्यरुपमा महोत्सवको आयोजन गरिने निर्णय भएको छ ।
जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले अयोध्याबाट ५ सय भन्दा बढी संख्यामा जन्ती आउने बताएका छन् । ‘श्रीराम जन्मभूमी तिर्थक्षेत्र ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने जानकारी प्राप्त भएको छ’ महन्थ वैष्णवले भने, विवाह महोत्सवमा आउने जन्तीको स्वागत र विश्राम लगायतको कार्यक्रमबारे अगाडि नै अवगत गराउनु पर्छ ।’ भगवान रामको अयोध्यामा प्राणप्रतिष्ठा भएपछि पहिलो पटक ठूलो संख्यामा जन्ती आउन थालेको छ । हरेक पाँच वर्षमा जन्तीलाई विशिष्टता प्रदान गरिन्छ ।
सीताराम विवाह महोत्सवलाई भव्य रुपमा आयोजन गर्न जनकपुरधाम उपमहानगर पालिकाले सरसफाई लगायतको कामलाई विशेष ध्यान दिएको छ । ‘नगरक्षेत्रको सरसफाई, मेलामा आउने श्रद्धालुहरुको बास, शौचालय, पिउने पानीलगायतको व्यवस्था गरिने छ’ जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले भने, धार्मिक सांस्कृतिक नगरी जनकपुरधाममा विवाह महोत्सवले पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।
रामजानकी विवाह महोत्सवको परम्परालाई जानकी मन्दिरले निर्वाह गर्दै आएको छ । संघीय सरकार अथवा प्रदेश सरकारको मेला आयोजनमा भूमिका न्यून हुने गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशको उद्योग वाणिज्य महासंघ, जनकपुरधाम उपमहानगरपालिकालगायतका निकायहरुसित सोमबार छलफल गरेका छन् । तर विवाह महोत्सवका लागि बजेट विनियोजन गरिएको छैन ।
अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएदेखि जनकपुरधाममा हिन्दू धर्मावलम्बी पर्यटकहरुको ओइरो लागेको छ । दिनहुँ हजारौको संख्यामा आउने भारतीय हिन्दू पर्यटकहरुलाई यहाँका अन्य धार्मिक, सांस्कृतिक स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाउन आवश्यक रहेको मधेश प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष जितेन्द्र महासेठ बताउँछन् ।
महासेठका अनुसार यहाँ आउने पर्यटकलाई जति समय रोक्न सके त्यती राम्रो व्यवसायिक कारोबार हुने छ । हिन्दू पर्यटकहरुका लागि मधेश प्रदेशमा प्रयाप्त दर्शनीय स्थलहरु रहे पनि समन्वय नहुँदा एकदिनमै फर्कने गरेको मारवाडी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरीले बताए । ‘संघीय सरकारले जनकपुरधामलाई ‘ विवाह हब’ बनाउने घोषणा गरेको छ ’उनले भने, तर त्यसको कार्यान्वयन हुने संभावना कमजोर नै देखिन्छ ।
विवाह महोत्सवको आयोजन भइरहेको बेला बारा जिल्लामा गढीमाईको मेला आयोजन पनि थालिएको छ । पाँच वर्षमा लाग्ने गढीमाई मेला पनि यस वर्ष परेको छ । गढीमाई मेला एक महिना सम्म लाग्ने गरेको छ । मेलामा लाखौंँ मानिस आउने आयोजकहरुले बताएका छन् । सीताराम विवाह महोत्सव र महागढीमाई मेलालाई जोड्न सके पर्यटकहरुलाई समेत सहज हुनेछ । एकै साथ दुई ठूलो आयोजनमा हिन्दू श्रद्धालुहरुलाई जोड्ने उपयुक्त अवसर भएकाले प्रदेश सरकारले विशेष पहल गर्न आवश्यक छ ।
The post विवाह महोत्सवको भव्य तयारी : अयोध्याबाट जन्ती आउने, जानकी मन्दिरमा सप्ताहव्यापी आयोजन appeared first on Janakpur Today.