सहकारीमा हिनामिना भएकामध्ये ८५ अर्ब पैसा राजनीतिक भ्रष्टाचारबाट आएको दाबी
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मकै पोल्ने र जुत्ता पालिस गर्नेको ८८ अर्ब पैसा सहकारीबाट अपचलन भयो भनेर इमोश्नल ब्ल्याकमेलिङ गरिएको टिप्पणी गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सहकारी ठगी सम्बन्धी छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब हिनामिनामध्ये ८५ अर्ब पैसा राजनीतिक भ्रष्टाचारबाट आएको दाबी गरेका हुन् । उनले एक÷दुई अर्ब पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेहरुको पनि हुनसक्ने बताउँदै बाँकी भ्रष्टाचारबाट आएको पैसा नै रहेको दाबी गरेका हुन् ।
नेता झाले एक करोडभन्दा माथि पैसा सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने व्यवस्था गर्नसमेत सरकारलाई चुनौति दिए । ‘४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको भन्ने कुरा प्रतिवेदनमा छ । तपाईँहरुलाई लाग्छ कि त्यो सबै मकै पोल्ने र जुता पालिस गर्नेको पैसा हो । होईन नि, त्यो राजनीतिक भ्रष्टाचारको पैसा हो । हामी यो पनि प्रस्ताव गर्छौं कि एक करोडभन्दा धेरैको स्रोत खुलाउनुपर्ने बाध्यता गर्दिओस् न । अनि पुराना पार्टीले ब्ल्याक मनीको प्राक्टिस गरेको पैसाहरु कति सहकारीमा छन् ? किन कि सहकारीमा त स्रोत खुलाउनु पर्दैन । होला एकदुई अर्ब उहाँहरुको पनि पैसा होला । बाँकी ८५ अर्ब राजनीतिक भ्रष्टाचार गरेको पैसा हो,’– उनले भने ।