सुहाङसँग फराकिलो मतान्तरमा डम्बर, डकेन्द्र पछिपछि

इलाम । इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङले मतको अग्रता बढाइरहेका छन् । उनले लगातार मतान्तर फराकिलो बनाइरहेका छन् ।

यो समाचार तयार पार्दासम्म सुहाङले २२ हजार ४ सय ९२ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले १६ हजार २ सय २८ मत ल्याएका छन् । फाकफोकथुमका ७, चुलाचुलीका ६, माङ्सेबुङका ६, माईका ३ र देउमाईका ५ वटा वडाको ४६ हजार ५ सय ५४ मत गणना भइसक्दा नेम्वाङले मतान्तर फराकिलो बनाइरहेका छन् ।

लामो समयदेखि लगातार नेकपा एमालेले विजयी हासिल गर्दै आएको यस क्षेत्रमा गत निर्वाचनमा कांग्रेसका डम्बरबहादुर खड्का स्व. सुवासचन्द्र नेम्वाङसँग १ सय १४ मतान्तरले पराजित बनेका थिए ।

गत २६ भदौमा सुवासको निधन भएपछि यस क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई र कांग्रेसले गत निर्वाचनमा पराजित खड्कालाई उम्मेद्वार बनाएको थियो । यो समाचार लेख्दासम्मको मतलाई हेर्ने हो भने नेकपा एमालेले विरासत जोगाउने पक्का देखिएको छ । यो समाचार तयार पार्दासम्म बाँकी रहेको देउमाई नगरपालिका र इलामनगरपालिकामध्ये देउमाईमा नेकपा एमालेको नै अग्रता देखिन्छ भने इलाम नगरपालिकामा कांग्रेसको बढी मत आउने अनुमान छ । मुढा र घण्टीले कांग्रेसको बढी मत काटेका कारण मतान्तर धेरै भएको कांग्रेस नेता बताउँछन् ।

यता पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १० हजार २ सय ५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलनकुमार योङहाङ लिम्बुको अहिलेसम्ममा ३ हजार २ सय ४२ मत आएको छ । त्यस्तै, हलोको १ सय २६, कलम ३ सय २७, लाउडस्पिकर ८५, मादल १८, कुखुराको भाले ४ सय ६९, तीर २१, गोरुगाडाको चक्का १ सय १७, माहुरी ३३, षट्कोण २७, डोजर ३९, महिला ३, सिरिन्ज १८, माछा ३, कंैची ४, जुँगासहितको अनुहार ३९ रहेको छ ।

यस क्षेत्रका ६ पालिकामा ४२ वटा वडा छन् । जसमा १३ वटा वडाको मत गणना गर्न बाँकी रहेको छ । क्षेत्र नं. २ मा ६९ हजार २ सय ८७ मत खसेको छ ।

लारुम्बामा सबैभन्दा बढी मत मुढाको
किरात धर्मावलम्बीको पवित्र धार्मिकस्थल लारुम्बा रहेको माङ्सेबुङ गाउँपालिका–५ मा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले सबैभन्दा बढी मत ल्याएका छन् ।

प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारले सय मत नकटाउँदा थेगिमको मुढा चिह्नमा सबैभन्दा बढी मत आएको हो । थेगिम पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार हुन् ।

थेगिमले यस वडामा १ हजार ३२ मत ल्याए । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ६९, कांग्रेस उम्मेदवार डम्बर खड्काले ४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले यस वडामा ३ मत ल्याएका छन् । २ हजार ७ मतदाता रहेको यस वडामा १ हजार १ सय ९२ मत खसेको थियो । उपप्रधान तथा गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेदेखि एमाले, कांग्रेसलगायत दलका नेतासमेतले निर्वाचन मुखमा गुरुसँग दर्शन भेट गर्नुले ‘राजनीतिक अपेक्षा’को चर्चा चलेको थियो ।

The post सुहाङसँग फराकिलो मतान्तरमा डम्बर, डकेन्द्र पछिपछि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95317/