२७ वर्षदेखि भाइको हत्यारा खोजेकी दिदीको कथा, तीन वर्षसम्म हत्यारासँग गरिन् च्याट

एजेन्सी– चिनमा एक महिलाले आफ्नो भाइको हत्यारा खोज्नको लागि जीवनको तीन दशक समय खर्चिएकी छिन् । हुनान प्रान्तकी ४७ वर्षीया लि हाइयूले आफ्नो भाइको हत्यारा खोज्न गरेको सङ्घर्ष कुनै फिल्मको कथाभन्दा कम छैन । उनले भाइको हत्या भएको तिस वर्षपछि हत्यारालाई जेलमा पठाउन सफल भइन् ।

लि हाइयूका पाँच दिदीबहिनी र एक भाइ थिए । सन् १९९२ को डिसेम्बरमा उनका बुबा र एक पुरुषबीच ज्यालाको विषयलाई लिएर विवाद चलिरहेको थियो। विवाद निकै बढेपछि ती पुरुषले हाइयूको बुबासँग बदला लिने निणर्य गरे । उनले ९ वर्षको कान्छो भाइ ली हुआनपिङलाई स्कुलबाट छुट्ने बेला अपहरण गरे।

भाइको अपहरणको पाँच वर्षपछि लि हाइयूले सन् १९९७ बाट आफ्नो कान्छो भाइको खोजी गर्न थालिन्। उनी चीनको युनान, सिचुआन, गुइझोउ र गुआङ्सी प्रान्तहरूमा पुगेर भाइको खोजी गरिन् । यस क्रममा उनी ठगी, बेचबिखनको शिकार समेत बनिन् ।

सन् २०१४ मा लि हाइयूका बुवाले एक नोट छाडेर आफ्नो प्राण त्यागे। त्यस नोटमा उनमा आफ्नो छोराको हत्या भएको र हत्यारालाई आफूले कहिल्यै भेटाउन नसकेको कुरा लेखेका थिए। बल्ल हाइयूले आफ्नो भाइको हत्या भइसकेको कुरा थाहा पाइन्।

उनको भाइको अपहरण भएको दुई महिनापछि उखुबारीमा शव भेटिएको थियो । उनको छुरा प्रहार गरेर हत्या गरिएको थियो । यो कुरा बुबाले आमा र आफूहरुलाई लुकाइर राखेको कुरा उनले बुबाको मृत्यु भएपछि मात्र थाहा पाइन् । बुबाले नोटमा भाइको हत्यारा यी मौकिङको नाम गरेका व्यक्तिले गरेको लेखेका थिए । निङ्बो घर भएका उनको हुलियाको बारेमा पनि नोटमा लेखेका थिए ।

भाइको हत्याराको गृहनगर र हुलिया थाहापाएपछि हत्यारालाई जसरी भए पनि खोजेरै छाड्ने उनले दृढता लिइन्। त्यसपछि उनी हत्याराको गृहनगर झेजियाङको निङ्बोमा सरिन् । त्यहाँ उनी आफ्नो भाइको हत्याराको खोजी गरिरहेकी थिइन् ।

एक दिन उनले बुबाले उल्लेख गरेजस्तै हुलिया रहेका एक व्यक्तिलाई देखिन्। उनले काम खोज्ने बहानामा ती व्यक्तिसँग कुराकानी अगाडि बढाइन्, र ती व्यक्तिको नाम यी मोहुआ भएको थाहा पाइन्। भाइको हत्याराको नाम र हुलिया भएको व्यक्तिको नाम लगभग उस्तै भएपछि उनी नै हत्यारा भएको उनले बुझिन् । तर प्रहरी अगाडी प्रमाण पेश गर्नुपर्थ्यो । त्यसैले ती व्यक्ति हत्यारा हुन् या होइनन् पत्ता लगाउन उनले यी मोहुआसँग मिल्ने साथी बनिन् । यी मोहुआको विश्वास जीत्न उनले तीन वर्षसम्म निरन्तर च्याट गरिरहिन् ।

एकदिन ती व्यक्तिलाई उनले सोधिन्, ‘यस क्षेत्रका मानिसहरु तपाईलाई यी मौकिङ र यी मौहुआ दुवै नामले बोलाउँछन्, तपाईको खास नाम के हो ?” ती व्यक्तिले आफ्नो वास्तविक नाम यी मौहुआ भएपनि बाल्यकालमा यी मौकिङ पनि भन्ने गरेको बताए।

भाईको हत्यारासँग ती पुरुषको नाम मिलेपछि उनको शंका पुष्टि भयो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन्। त्यसपछि सन् २०२० मा उनको भाइको हत्यारालाई प्रहरीले पक्राउ गर्यो । तर चिनियाँ अदालतले आरोपीलाई दोषी ठहर गर्न पर्याप्त प्रमाण नभएको फैसला सुनायो। २०२२ को नोभेम्बरमा, प्रोक्युरेटोरेटले अघिल्लो निर्णयलाई खारेज गर्‍यो ।

त्यसपछि गत सेप्टेम्बरमाफेरि एक पटक अदालतमा उपस्थित गराइएको थियो । अपराधीलाई अदालतमा उपस्थित गराउनुभन्दा अघि लि हाइयूले आफ्नो टाउको खौरिएकी थिइन्। आफ्नो बुबाको तस्वीर बोकेर उनले भनिन्, ‘म मेरो बुबाको मिसन पूरा गर्न चाहन्छु। मौकिङले आफ्नो अपराधको लागि मृत्युदण्ड पाउनेछन्।”

यता अदालतमा यी मौकिङले १९९२ मा आफ्नो प्रतिद्वन्द्वीसँग ज्यालाको विषयमा विवाद भएपछि उनको छोरालाई स्याउको प्रलोभन दिएर विद्यालयबाट अपहरण गरेको स्विकार गरेका थिए ।

Source : https://onlinetvnepal.com/2024/11/186394/