‘फ्रान्सको लाहुरे हुँ, बिहे गरेर लैजान्छु’ भन्दै नक्कली फेसबुक आईडी बनाएर ठगी

काठमाडौं– नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै युवतीहरुलाई ठगेको आरोपमा एक जना पक्राउ परेका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भएका रुद्रबहादुर तामाङ पक्राउ गरेका हुन् ।

काठमाडौं चन्द्रागिरी बस्दै आएका उनलाई चन्द्रागिरीको हाईभिजन कोलोनीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । शुक्रबार पक्राउ गरेका उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार गुरुङले फेसबुकमा नक्कली आईडी बनाएर युवतीहरूलाई एड गर्थे । युवतीहरुसँग कुरा गर्दै आफू फ्रान्स, सिङ्गापुर लगायतका देशको लाहुरे भएको विश्वास दिलाउँथे । उनी युवतीलाई मन पराउने भन्दै बिहे गरेर विदेश लैजान्छु भन्दै आशा देखाउँथे । युवती विश्वस्त भइसकेपछि कागजात बनाउनुपर्ने भन्दै पैसा माग्थे ।

काठमाडौंका विभिन्न स्थानमा युवती बोलाएर चेकमार्फत रकम लिने गर्थे । रकम लिएपछि उनी सम्पर्कविहीन हुन्थे ।

युवक लामो समयसम्म हराएपछि एक महिलाले आफू ठगिएको महसुस गरी प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा रुद्र बहादुर गुरुङको संलग्नता देखिएको प्रहरीले जनाएको छ । युवतीबाट चेकमार्फत १६ लाख ८३ हजार रुपैयाँभन्दा बढी र वालेटहरूबाट १० लाख ९९ हजार रुपैयाँ बढी गरी कूल २७ लाख रुपैयाँ बढी लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ तामाङमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/11/186307/