अमेरिकी चुनावमा १ लाख नेपाली अमेरिकन मतदाता, ३० हजार पहिलोपटक

अमेरिकाको राष्ट्रपति चुनावमा झण्डै १ लाख नेपाली मूलका अमेरिकनहरु मतदानका लागि योग्य रहेका छन् जसमध्ये झण्डै ३० हजारले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदानका लागि योग्य रहेका छन् । अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार ८७,००० जना नेपालीहरूले अंगीकृत रुपमा अमेरिकाको नागरिकता प्राप्त गरेका छन् भने अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीहरुलाई समेत जोड्दा यो संख्या १ लाखको हाराहारीमा रहेको छ ।

एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांक अनुशार पनि नेपाली अमेरिकन मतदाताको संख्या अमेरिकामा ९१ हजार ९ सय ९ रहेको छ । जसमध्ये २४ हजार ५ सय ६१ जना नर्थइस्टमा, १६ हजार ६ सय ४५ मिडवेष्टमा, ३१ हजार ९ सय ५३ जना साउथमा र १८ हजार ७ सय ५० जना वेष्टमा रहेका छन् ।

यसपटकको राष्ट्रपति चुनावको मतपत्र

कुल ८ वटा ब्याटलग्राउण्ड राज्यमा नेपाली मतदाताको संख्या १२ हजार ७ सय १६ रहेको एसियन अमेरिकन रिसर्च सेन्टरको तथ्यांकमा उल्लेख छ । ब्याटलग्राउण्ड राज्यहरुमा नेपाली अमेरिकनहरुको संख्या सबैभन्दा धेरै पेन्सिलभेनियामा ३८९० रहेको छ । यो संख्यामा नेपालीभाषी भुटानीहरुको संख्या जोडिएको छैन ।

सन् २०१४ सम्ममा २०,९२६ नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। त्यसपछिको दशकमा थप ६६,००० जना नेपालीहरू अमेरिकी नागरिक बने।  सन् २०१५ देखि २०२३ सम्ममा ५६,८६३ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२४ को संख्या समेत जोड्दा यो संख्या लगभग ६६,००० पुग्छ ।

यसरी अहिलेसम्म करिब ८७,००० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरिसकेका छन्। सन् २०१४ देखि २०२४ सम्ममा नेपाली अमेरिकी जनसंख्यामा करिब ३१४ प्रतिशतको वृद्धि भएको छ, जुन झण्डै ४ गुणा हो।

न्युयोर्कको क्वीन्समा राखिएको बोर्ड

सन् २०२३ को आर्थिक वर्षमा ७,९३० नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। सन् २०२२ मा यो संख्या ९,४०८ थियो, भने सन् २०२१ मा ७,२३२ जना नेपालीहरूले अमेरिकी नागरिकता प्राप्त गरेका थिए। २०२१ देखि अमेरिकी नागरिकता प्राप्त गर्नेहरुले अमेरिकी राष्ट्रपति चुनावमा पहिलोपटक मतदान गर्न लागेका हुन् ।

 

Source : https://www.khasokhas.com/211008