इजरायल र लेबनानबीच युद्धविरामको सहमति

काठमाडौं ।

इजरायल र लेबनानबीच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो । योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ।

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ। यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्ने छ। सम्झौता लागु हुनुभन्दा केही घण्टाअघि इजरायलले लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो।

मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको छ। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो। आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ।

सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। अकस्मात् युद्धविराम हुनुमा अमेरिकी राष्ट्रपति जो बाइडेनले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताए।

Source : https://newsofnepal.com/2024/11/27/680258/