एकै व्यक्तिले फलाए ४ सय मुरी धान
गुल्मी । गुल्मीमा एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थलका मेघनाथ अर्यालले चार सय मुरी धान फलाएका हुन् । जिल्लामा एउटै व्यक्तिले ठुलो परिणाममा धान फलाएका अर्याल एक्ला व्यक्ति हुन् ।
हालसम्म उनले तीन सय मुरी धान उठाइसकेका छन् भने अझै सय मुरी उठाउन बाँकी छ । ‘हालसम्म ७५ रोपनी क्षेत्रफलमा लगाएको तीन सय मुरी धान उठाएका छौ ।’ उनले भने, ‘अब २५ रोपनीको सय मुरी उठाउन बाँकी छ ।’ २५ रोपनी धान पनि काटेर सुकाएका छन् । अब थ्रेसर लगाएर धान र पराल छुट्याउन मात्रै बाँकी छ ।
अर्यालले सय रोपनीमध्ये ७२ रोपनी आफ्नो र २८ रोपनी जग्गा लिजमा लिएर धानखेती गरेका हुन् । लिजमा लिएको जग्गाको बार्षिक प्रति रोपनी तीन हजारका दरले बुझाउदैँ आएका छन् ।
धान उठाउने काम बाँकी रहेकोले हिसाब गर्न नभ्याएको अर्यालको भनाई छ । ‘धान काट्ने, सुकाउने र थ्रेसर लगाउने काममै व्यस्त छौं’ उनले भने । उक्त धानलाई चामल बनाई प्याकेजिङ्ग गरेर बेच्ने चाहाना अर्यालको छ । ‘पहाडमा सधै तराईबाट चामल आउने भएकोले त्यसलाई रोक्न पनि गाउँमै मिलको स्थापना गरी चामललाई बिक्री गर्ने योजना छ ।’ उनले भने, ‘मिलका लागि राज्यको सहयोग आवश्यक छ ।’
धानखेतीका साथै उनले व्यवसायिक भैँसी पालन पनि गरेका छन् । उनीसँग अहिले २१ वटा माउ भैँसी, एउटा ठुलो रागो र १४ वटा पाडापाडी छन् । उत्पादन भएको धानबाट चामललाई ब्रान्डिङ्ग गरी बिक्री गर्ने र भुस भैँसीको लागि दानाको रुपमा प्रयोग गर्ने अर्यालको योजना छ । धान काटेलगत्तै उक्त जग्गामा मकै खेती, घाँस वा अन्य तरकारी लगाउने तयारी मेघनाथले गरेका छन् ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले मिल स्थापनाका लागि लागत साझेदारी गर्न पालिका तयार रहेको बताए । धुर्कोटमै चामलको मिल स्थापना हुने बिषय पालिकाको लागि गौरवको बिषय रहने भन्दै अध्यक्ष पोखरेलले पालिका आवश्यक सहयोगको लागि तयार रहेको बताए ।
कृषि ज्ञान केन्द्र, गुल्मीका प्रमुख नवराज भण्डारीले ‘गुल्मीको अर्गानिक चामल’ भनी ब्रान्डिङ्ग गर्नुपर्ने बताए । गुल्मी जिल्लाभर यस बर्ष सात हजार हेक्टरमा बर्खे धान लगाएकोमा २१ हजार मेक्ट्रिक टन उत्पादन भएको उनको भनाई छ ।
The post एकै व्यक्तिले फलाए ४ सय मुरी धान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104258/