एनपीएलको ट्रफी धरहरामा सार्वजनिक

काठमाडौं ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सोमबार सुन्धारास्थित धरहरा परिसरमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन् ।

सार्वजनिक एनपीएलको ट्रफीको शीर्ष स्थानमा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रस्थित कालापत्थरको ढुंगा राखिएको थियो । क्यानका सचिव पारस खड्काका अनुसार नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधनको सन्देश दिन ट्रफीमा कालापत्थरको ढुंगा राखिएको बताए ।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि क्यानले भारतीय टेलिभिजन स्टार स्पोर्टससँग सम्झौता गरेको छ। प्रतियोगिताको उदघाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच हुनेछ ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्।

Source : https://newsofnepal.com/2024/11/26/680075/