चार दिनदेखि नयाँ पासपोर्ट बनाउने काम ठप्प, छिटो काम सुरु गर्न सेवाग्राहीको दबाब

काठमाडौं– चारदिन देखि सेवाग्राहीले नयाँ राहदानी बनाउन सकेका छैनन् । राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ ।

पासपोर्ट बनाउने काम त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएका सेवाग्राही आक्रोशित भएका छन् । उनीहरुले छिटो सेवा सुरु हुनुपर्ने माग गर्दै कार्यालय परिसरमा आइतबार होहल्ला गरेका हुन् ।

उता विभागले भने प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ । प्रणालीका केही कम्प्युटर सफ्टवेयरमा मालवेयर छिरेको थाहा पाएपछि प्रणालीमा जोखिम नहोस् भनेर राहदानी वितरणको सबै कामकाज ठप्प गरेको राहदानी विभागको दाबी छ। तथ्यांकको सुरक्षा लगायतका दृष्टिबाट सबै समस्या समाधान भएपछि सेवा सुरु हुने बताइएको छ ।

यसअघि शुक्रबार विभागका महानिर्देशक तीर्थराज अर्यालले आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट सेवा थाल्ने गरी समस्या समाधानको प्रयास भइरहेको बताएका थिए । सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर राहदानी प्रणालीमा आएको समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको उल्लेख गर्दै १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयासरत रहेको बताएको थियो ।

तर हालसम्म सेवा पुनः सुरु हुने स्थिति देखिएको छैन । जसकारण वैदेशिक रोजगारी र अन्य शिलशिलमा विदेश जानका लागि तत्काल पासपोर्ट बनाउनुपर्ने सेवाग्राही मारमा परेका छन् । त्यसैले सेवा छिटो सुचारु गर्न सेवाग्राहीले विभागलाई चेतावनी दिएका हुन् ।

 

Source : https://onlinetvnepal.com/2024/11/186681/