पोखरामा टुंग्याइयो पूर्ण बहादुरको सारंगीको कार्यक्रम

पोखरा ।

लक्ष्मीपूजाको दिन पारेर आगामी बिहीबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म पुर्ण बहादुरको सारंगीको टोलीले देश दौडाहालाई पोखरामा टुंग्याएको छ। गन्धर्व परिवारको कथा बोकेको फिल्मको प्रवर्द्धनका लागि फिल्मको निर्माण टोली पोखरा आएको हो।

कार्यक्रममा कलाकार प्रकाश सपुतले अब देश दोडाहा अभियान सकिएको बताए। आफूले नै निर्माण टोलीलाई पोखरामा अन्तिम कार्यक्रम गर्न अनुरोध गरेको जनाउँदै फिल्ममा नेपाली समाजलाई नै उतारेको बताए।

‘समाज उही हो, कथा उही हो। फिल्म नेपाली समाजकै हो। फरक यति हो हामीले सारंगीको कथालाई बोकेका छौं। यो पहिलोपटक हो,’ प्रकाशले भने, ‘मैले नै यो अभियानलाई पोखरामा सक्न भनेको थिएँ। पोखरा मेरो घर हो, देशभर कुदेको थकाइ पोखरामा मारौ“ भनेर यसो गरिएको हो।’

फिल्मका प्रमुख कलाकार विजय बरालले २०३०/०३५ सालतिरको कथा फिल्मले बोकेको बताए। उनले फिल्ममा प्रेम र द्वन्द्वको कथा रहेको र फिल्मका गीतलाई दर्शकले निकै मन पराएको सुनाए। फिल्मको सांगीतिक कार्यक्रम इटहरीबाट शुरू भई धरान, दमक, विराटनगर, चितवन हुँदै पोखरामा सम्पन्न भएको हो।

कार्यक्रममा फिल्मका प्रमुख कलाकार विजय बराल, मुकुन भुषाल र अन्जना बराइलीका साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारंगी बाधक विराज गन्धर्व सहभागी थिए।

पुर्ण बहादुरको सारंगी सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्स्को ब्यानरमा निर्माण भएको हो। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्।

Source : https://newsofnepal.com/2024/10/28/675608/