बक्स अफिस रिपोर्ट अन्यौल, बोर्डले अझै ६ महिना व्यापारिक रिपोर्ट नदिने

काठमाडौं । चलचित्र विकाश बोर्डले दुई वर्ष अघि नै हरेक महिना नेपालका सिनेमा घरमा व्यापार भएको चलचित्रको व्यबसायिक विवरण (बक्स अफिस रिपोर्ट) सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यो घोषणा केही महिना लागू पनि भयो । भुवन केसी बोर्ड अध्यक्ष भएपछि उनले गरेको घोषणालाई एक वर्षपछि केसीले नै लागू गरेनन् । यो कार्यलाई बोर्डका अहिलेका अध्यक्ष दिनेश डिसीले अझै कम्तीमा ६ महिना कार्यन्वयन गर्न नसक्ने बताएका छन् ।

चलचित्र भवनमा दैनिक कती व्यापार भएको छ भन्ने पूर्ण विवरण नआउँदा निर्माताहरुले आफ्नो चलचित्रले गरेको व्यापारको मनपर्दी विवरण सार्वजनिक गरेका छन् । निर्माताले सार्वजनिक गरेको विवरणलाई चलचित्र विकाश बोर्डले पनि हाललाई प्रमाणित गर्न नसक्ने जवाफ दिएको छ ।

बोर्डले बक्स अफिसको व्यापारिक सूचना आधिकारिक रुपमा दिन नसक्दा आफ्नो सिनेमाले कती व्यापार ग¥यो भन्ने अन्यौलता निर्माताहरुमा छाउने गरेको छ । चलचित्र हल सञ्चालक तथा वितरकहरुले दिएको विवरणको आधारमा आफुहरुले चित्त बुझाउनु परेको निर्माताहरु बताउँछन् ।

तीन साता अघि रिलिज भएको चलचित्र बेहुली फ्रम मेघौलीले रिलिज भएको तेश्रो दिनसम्म २ करोड २५ लाख रुपैयाँको व्यापार नेपालबाट गरेको विवरण वितरकलाई आधार बनाएर सो चलचित्रका निर्माता अभिनेता निश्चल बस्नेतले सार्वजनिक गरे । यस्तै यतिबेला दोश्रो सातामा प्रदर्शन भईरहेको चलचित्र छक्का पञ्जाले रिलिज भएको सात दिनमा नेपालबाट ११ करोड ५० लाखको व्यापार गरेको विवरण सो चलचित्रका वितरक मनोज राठीले सार्वजनिक गरे । यो विवरण चलचित्र विकाश बोर्डको बक्स अफिसबाट भन्दा पनि आफ्नो वितरण सञ्जालबाट उनले सार्वजनिक गरेका हुन् ।

यस्तै चलचित्र १२ गाउँका वितरक गोविन्द शाहीले यो चलचित्रले रिलिज भएको पहिलो साता नेपालबाट ८ करोड भन्दा माथिको व्यापार गरेको दाबी गरे । उनले पनि देशभरीका सिनेमा हलहरुको दर्शक अक्युपेन्सीको आधारमा यो विवरण सार्वजनिक गरेको जिकिर गरे । यता चलचित्र ज्वाईं साबको निर्माण टिमले भने आफ्नो पहिलो साताको व्यावसायिक आँकडा सार्वजनिक गरेको छैन । यी चलचित्रका निर्मातालाई वितरकले दिएको यो बक्स अफिस रिपोर्ट हो ।

चलचित्र विकाश बोर्डले ७ वर्ष अघि नै बक्स अफिस प्रणाली लागू गरे पनि टिकट काट्नासाथ रिपोर्ट देखिने ‘रियल टाईम कलेक्सन’ सफ्टवेर नभएकै कारण सिनेमा हलमा भएको व्यापारको सही आँकडा आउन सकेको छैन । जसका कारण निर्माताहरुलाई ठुलो असर परेको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन्,‘देशका जुनसुकै हलमा दर्शकले टिकट काटे पनि त्यसको विवरण तत्कालै बक्स अफिसको रिपोर्टमा देखिनु पर्ने माग हाम्रो छ तर अहिलेसम्म त्यो हुन सकेको छैन ।’ अध्यक्ष खड्काले भने ।

निर्माता संघका अध्यक्ष खड्काको कुरालाई चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले स्विकार गरेका छन् । बक्स अफिसको अहिलेको समस्यालाई पूर्ण रुपमा सुधार्न अझै कम्तिमा ६ महिना लाग्ने अध्यक्ष डिसीले बताए,‘नेपालका सिनेमा घरहरुले दिनभर चलचित्रको व्यापार गर्छन र बेलुका आफ्नो हलमा विक्री भएको टिकटको विवरण चलचित्र विकाश बोर्डको बक्स अफिस प्रणालीमा पठाउँछन् । उनीहरुले पठाएको रिपोर्टलाई अहिले हामीले आधिकारिक मानेर सार्वजनिक गर्ने अबस्था छैन ।’ सोही कारण यो वर्षको लागि बक्स अफिस रिपोर्ट सार्वजनिक नगर्ने घोषणा आफुले गरेको उनले बताएका छन् ।

अध्यक्ष डिसीको भनाईमा बक्स अफिस प्रणाली लागू नहुँदा बिगतमा हलवाला र वितरकले निर्मातालाई आफ्नै तरिकाले व्यापारको हिसाव लेखेर बुझाउँथे । अहिले पनि दिनभरीको व्यापार यति भयो भनेर हलले हामीलाई बेलुका मात्र रिपोर्ट पठाउनु भनेको पहिलाकै जस्तो प्रकृया भएको अध्यक्ष डिसीको कथन छ,‘ चलचित्र विकाश बोर्ड सरकारी निकाय भएकाले हामीले गलत रिपोर्ट दिन मिल्दैन । हल सञ्चालकहरुले दिएको रिपोर्टमा हामीलाई नै विश्वास छैन भने त्यस्तो रिपोर्टलाई हामीले कसरी मिडियाकर्मी तथा निर्माताहरुलाई दिन मिल्छ ।’ सोही कारण आफहरुले चलचित्र बक्स अफिसमा व्यापार भएको व्यावसायिक रिपोर्ट सार्वजनिक गर्न नचाहेको पनि डिसीले बताए,‘जब हामी रियल टाईम कलेक्सन प्रणाली लागु गर्न सफल हुून्छौं । त्यसपछिबाट प्रकृया पु¥याएर आउने निर्मातादेखि सञ्चारकर्मीलाई रिलिज भएका नेपाली चलचित्रको व्यापार विवरण अर्थात बक्क्स अफिस रिपोर्ट दिने छौं ।’

यता सूचनाका हक अन्तर्गत आधिकारिक पत्र लिएर चलचित्रको बक्स अफिस रिपोर्टको विवरण माग्न मिडियाकर्मीहरु चलचित्र विकाश बोर्ड जानेक्रम पनि रोकिएको छैन,‘तर हामीले गलत रिपोर्ट दिन मिल्दैन भनेर मिडियाकर्मीहरुलाई व्याबसायिक रिपोर्ट नदिई फर्काउनु परेको छ । गलत रिपोर्ट दिनु हुन्न भन्ने मान्यताको कारण सूचनाको हकलाई हामीले यतिबेला पालना गर्न नसकेका हौं’ डिसीले भने ।

बोर्डको निर्देशनमा हल सञ्चालकहरुले आफ्नो सबै प्रकृया पुरा गरेर डिजिटल प्रणालीबाट टिकेट बिक्री गर्दा पनि चलचित्र हल सञ्चालकलाई दोषी तुल्याउन नहुने भनाई हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनको छ । रियल टाईम कलेक्सन प्रकृयामा जान आफुहरुले नै बोर्डलाई सघाउने पनि उनले बताएका छन् । तर त्यसको लागि बोर्डले प्रकृया अघि बढाउनु पर्ने उनको सुझाब छ ।

The post बक्स अफिस रिपोर्ट अन्यौल, बोर्डले अझै ६ महिना व्यापारिक रिपोर्ट नदिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102460/