भीरकोटमा नागरिकलाई स्वस्थ बनाउन योग शिविर

स्याङ्जा । ‘योग गरौं, स्वस्थ रहौं’ भन्ने मुल नारा सहित आफ्ना नागरिकलाई स्वास्थ बनाउन ५ दिने योग शिविर संचालन हुने भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्ना नागरिकलाई स्वस्थ बनाउन कात्र्तिक ९ गतेदेखी १३ गते सम्म ५ दिने योग शिविर संचालन गर्ने भएको हो । पछिल्लो समय स्वस्थ्य सुधारका लागि यो गर्ने संख्यामा बृद्धि हुन थालेपछि भीरकोट नगरपालिकाले यो अभियानको शुरुवात गरेको छ ।

भीरकोट नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको जानकारी दिए । भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजनामा नगरपालिका रहेको छ नगर प्रमुख कर्माचार्यले भने,‘नागरिकको स्वास्थ्यमा स्थानीय सरकारको दायीत्व सम्झेर यो योजना अगाडी सारेको छ ।’ शिविरमा सहभागी हुन इच्छुक नगरवासीका लागि छाङ्छाङ्दी, हेलु, र सुन्दरबजार क्षेत्रबाट यातायातको सुविधा समेत उपलब्ध गराउने गरी आयोजना गरेका छौं उनले भने ।

योग शिविर संचालनका लागि निवर्तमान नगर प्रमुख छायाँराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ । पतञ्जली योगपिठ नेपालको संयोजक साध्वी देवादितिले सहभागीहरूलाई प्रशिक्षण दिने नगर प्रवक्ता दिपेन्द्र के.सी.ले जानकारी दिए । कात्र्तिक ९ गतेदेखी १३ गतेसम्म भीरकोट खेलमैदानमा बिहान ५ बजेदेखी ७ बजेसम्म योग शिविर संचालन हुने नगर प्रवक्ता केसीले बताए । शिविरमा बालबालिका, युवा, तथा जेष्ठ नागरिक सबै सहभागी हुन पाउने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।

योग शिविर संचालनका लागि नगरपालिकाले अनुमानित ३ देखि ४ लाख रूपैयाँ खर्च गर्ने जनाएको छ । शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै योग शिविर व्यवस्थापन समितिका संयोजक छायाँराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गरेका छन् । आफ्नो स्वास्थ्यलाई स्वस्थ बनाउन योगले राम्रो लाभ दिने भएकाले सबैले यो मौका नगुमाउन समेत खनालले सबै नागरवासीलाई अनुरोध गरेका छन् ।

The post भीरकोटमा नागरिकलाई स्वस्थ बनाउन योग शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102462/