रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइयो

काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेश गरिएको हो ।

रास्वापाका नेता, कार्यकर्ता र समर्थकहरुले जिल्ला अदालत कास्की अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले लामिछानेलाई प्रदर्शन भइरहेको भन्दा फरक बाटो प्रयोग गरी अदालतमा प्रवेश गराएको हो । रास्वपाका सांसदहरु हरि ढकाल, डिपी अर्याल, डा। स्वर्णिम वाग्ले, मनिष झालगायत पनि प्रदर्शनमा सहभागी छन् ।

यस्तै लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेर भीडलाई तितरबितर बनाएको छ । रास्वपा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरबितर बनाएको हो ।

कास्कीको सहिदचोक र गैह्रापाटन क्षेत्र निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्म उक्त निषेधाज्ञा लागु हुने जनाएको हो । प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

तर, अदालतअघि भेला भएका रास्वपाका नेता, कार्यकर्ता र समर्थकले निषेधाज्ञा तोड्न खोजेपछिसँग प्रहरीसँग धकेलाधकेल भएको थियो । प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/184968/