विवाह महोत्सवमा प्रदेश सरकारको हस्तक्षेप ! जानकी मन्दिर परम्परागत कार्यक्रममा सीमित रहने

भगवान सीताराम विवाह महोत्सव भव्यरुपमा मनाउन तयारी थालिएको बेला मधेश प्रदेश सरकार र जानकी मन्दिरबीच समन्वयको अभाव देखिएको छ ।

विवाह महोत्सवमा भारतको अयोध्याबाट आउने जन्ती, फूलबारी लीला, नगर दर्शन, स्वयंवर, मटकोर, धनुषयज्ञ, तिलकोत्सव, रामकलेवालगायतको परम्परागत कार्यक्रमको औपचारिक रुपमा मात्र जानकी मन्दिरले गर्ने भएको छ ।

मधेश प्रदेश सरकारले भारतबाट आउने जन्तीको स्वागत सत्कार, आवास, भोजन, विदाई, नगरदर्शन, फूलबारी लीला लगायतको कार्यक्रमहरुको बृहत्त आयोजन गर्ने बताइएको छ । प्रदेश सरकारले शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीको संयोजकत्वमा स्वास्थ्य, खानेपानी लगायत ५ जना मन्त्रीसहितको सुझाव दिन समिति गठन गरेको छ ।

समितिले प्रतिवेदन दिएपछि सरकारले त्यस अनुसारको तयारी गर्ने मुख्यमन्त्री सतीश कुमार सिंहले जनाएका छन् । समितिका संयोजक मन्त्री तिवारी, सदस्यहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह कोइरी, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद कुमार जयसवाल, उर्जा, सिँचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव र वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ सहितको टोलीले शुक्रबार जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवसित छलफल गरेका छन् ।

विवाह महोत्सवमा आयोजना गरिने कार्यक्रमहरुलाई विस्तृत र व्यवस्थित रुपमा गर्न प्रदेश सरकारले चाहेको बताउँदै टोलीले त्यसका लागि गर्नुपर्ने कामको जानकारी मागेका थिए । प्रदेश सरकारले महोत्सवलाई भव्यता पूर्वक मनाउन जन्तीको स्वागत, सत्कारलगायत आवास, भोजन, विदाईसमेतको कार्यहरु गर्ने मन्त्रीहरुले जनाएका छन् । भारतको अयोध्याबाट हरेक वर्ष विवाह महोत्सवमा जन्ती आउने गरेको छ । प्रत्येक ५ वर्षमा जन्ती आउने भएपछि यसपटक भव्यरुपमा तयारी गरिने भएको छ ।

जन्तीको स्वागत सत्कार पनि भव्य रुपमा हुँदै आएका छ । यस वर्ष राममन्दिर ट्रष्टका सचिव चम्पत रायको अगुवाइमा जन्ती आउने भएको छ । त्यसका लागि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बृहत्त सर्वपक्षीय बैठकको आयोजना गरी जन्तीका लागि अयोध्यामा निम्तो पठाइसकेका छन् ।

जन्तीको स्वागत, सत्कार, आवास, भोजनको जिम्मेवारी मारवाडी सेवा समितिले निर्वाह गर्दै आएको छ । तर यस वर्ष ५ सयको संख्यामा जन्ती आउने भएकाले त्यसको व्यवस्थापन गर्न प्रदेश सरकारले चासो लिएको छ । प्रदेश सरकारले चासो लिएपछि जानकी मन्दिर बृहत्त आयोजनबाट पछाडि हटेको छ । जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले ५ सयको संख्यामा आउने जन्तीका लागि जानकी मन्दिर परिसरमा मञ्च व्यवस्थापनलगायतमा समस्या हुने बताएका छन् । ‘विवाह महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउँदा प्रदेश सरकारले कार्यक्रमहरु बाह«विघामा आयोजन गरेका थिए’ उनले भने, जानकी मन्दिर परिसरमा बृहत्त आयोजन गर्न कठिनाई हुने भएकाले प्रदेश सरकारले बाह«विघामा कार्यक्रम गर्नु उपयुक्त हुनेछ ।

बाह«विघामा स्वयंवर, नगरदर्शन, धनुषयज्ञ, साधुसन्तहरुका लागि ठूलो मञ्च, आवास, भोजन, विदाईलगायतका कामहरु प्रदेश सरकारले गर्ने भएपछि जानकी मन्दिरको परम्परागत कार्यक्रमहरु भने पूर्ववत नै हुने महन्त वैष्णवले बताए । महन्त वैष्णवले भने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम पनि बाह«विघामा नै आयोजना गरिएको थियो ।

अयोध्याबाट आउने जन्तीलाई पनि औपचारिक रुपमा हजाम(ठाकुर) पठाएर निम्तो दिने काम पनि प्रदेश सरकारले गर्ने जनाउ अयोध्याका सन्तहरुलाई पठाएको उनले बताए । अयोध्याबाट आउने जन्तीलाई औपचारिक रुपमा निम्तो दिन अहिले पनि हजाम नै पठाइने गरिन्छ । मिथिलाको परम्परा अनुसार भोजपत्रमा जन्ती आउन निम्तो सहित डाली(चँगेरा) मा एकजोर धोती, सुपारी, धान लिएर तिहारपछि हजाम अयोध्या जाने छन् ।

जानकी मन्दिरले निर्वाह गर्दै आएको सो परम्परा अब प्रदेश सरकारले निर्वाह गर्नेछ । प्रदेश सरकारले जन्ती आउने निम्तो अयोध्या पठाइने सुझाव महन्त रामतपेश्वर दास वैष्णवले दिएका छन् । पञ्चवर्षिय विशेष बिबाहमहोत्सवको आयोजना बाह«बिघामा गरिदै आएको छ । कोरोनाकालमा पनि जानकी मन्दिरले सीमित रुपमा मन्दिर भित्रै विवाह महोत्सवको आयोजना गरेको थियो । बृहत्त आयोजनाका लागि प्रदेश सरकारको अग्रसरता सकारात्मक रहेको महन्त वैष्णवले बताए ।

The post विवाह महोत्सवमा प्रदेश सरकारको हस्तक्षेप ! जानकी मन्दिर परम्परागत कार्यक्रममा सीमित रहने appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/26/100314/